परम्परागत खेती प्रणाली आधुनिकता तर्फ रूपान्तरण भइरहेको जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले बताउनुभयो । ४२ औँ विश्व खाद्य दिवसको अवसरमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुमपूर्वद्वारा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो ।
विगतको परम्परागत कृृषि खेती प्रणाली पछिल्लो समयमा आधुनिकता तर्फ रूपान्तरण भइहरेको प्रमुख श्रेष्ठले बताउनुभयो । तर, खेती प्रणाली आधुनिकता तर्फ रूपान्तरण भइराखेपनि कृषि उत्पादन गर्नेहरूको सङ्ख्या न्यून अवस्थामा रहेको उहाँको भनाइ रहेको थियो । रोजगारीको नाममा विदेश पलायनका निम्ति पैसा लगानी गर्ने तर, स्वदेशमै उद्यमी बन्नको लागि भने कुनै व्यक्तिले समेत इच्छा नदेखाउने र ऋण दिने व्यक्तिले पनि विदेश जानेको लागि ऋण दिने नकारात्मक प्रचलन रहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।
राज्यले भने अहिले कृषकका लागि विभिन्न अनुदान मार्फत कृषि पेसालाई आधुनिकता तर्फ रूपान्तरण गरिराखेको उहाँले बताउनुभयो । “यद्यपी राज्यको लगानी, भने अनुसारको प्रतिफल आउन नसकिराखेको छ” श्रेष्ठले भन्नुभयो –“यसमा थप कृषक समक्ष सचेतना फैलाइ कृषि उत्पादनमा जागुरुप बनाउनु पर्ने आवश्यक रहेको छ ।”
“उत्पादन, पोषण र वातावरणमा सुधार, खुसी जीवनको आधार” भन्ने नाराका साथ जिल्लामा ४२ औँ विश्व खाद्य दिवस मनाइएको छ । कार्यक्रमको अध्यक्षता एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतको रहेको थियो । जिसस प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख, उपप्रमुख मोहनबहादुर केसी र प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको विशेष आतिथ्यता रहेको थियो । जिल्ला स्थित सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एवम् कृषकहरूको उपस्थिति रहेकोमा कार्यक्रम सञ्चालन एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका सूचना अधिकारी थलराज बस्नेतले गर्नु भएको थियो ।