रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले वर्षातले विगारेका सबै ग्रामिण सडक तत्काल मर्मत गर्ने निर्णय गरेको छ । नगरकार्यपालिका बैठकले नगरका सबै वडामा रहेका ग्रामिण सडकहरु तत्काल मर्मत गरेर सुचारु गर्ने निर्णय गर्दै सबै वडामा समान बजेट पठाउने निर्णय गरेको छ ।
नगर भरका स्थानीय सडक मर्मतका लागि नगरपालिकाले समानीकरण अनुदान अन्तर्गत चालु आर्थिक वर्ष २०७९÷०८० का लागि कुल २७ लाख बजेट विनियोजन गरेकामा कार्यपालिकाले उक्त बजेट सबै वठामा समान रुपमा वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार एउटा वडालाई १ लाख ९२ हजार ८ सय ७५ रुपैंया भाग परेको छ ।
यो बजेटबाट नगरपालिकामा रहेका सबै सहायक सडकहरु मर्मत गरी सुचारु गर्ने कार्यपालिकाको निर्णय छ । सडक सफा गरी सुचारु गर्ने जिम्मा नगरले वडालाई दिएको छ । यसका लागि कम्तिमा तीन वटा कोटेशन माग गरी सबैभन्दा कम प्रस्तावबाट सडक सफा गर्न नगरपालिकाले वडाहरुलाई निर्देशन गरेको छ ।
सडक मर्मतका लागि निर्माण व्यवसायी छनौट गर्दा जिल्ला दररेट र नगरपालिकाले तयार पारेको दररेटमा बढी नहुने गरी छनौट गर्न पनि नगरपालिकाले सबै वडालाई भनेको छ । नगरपालिकाका १४ वटै वडामा रहेका सडकहरु वर्षातका कारण जीर्ण भई संचालन हुन नसक्ने अवस्थामा रहेका छन् ।
जथाभावि सडक निर्माण हुँदा वर्षेनी सबैजसो ग्रामिण सडकहरु वर्षातको समयमा अवरुद्ध हुने गरेका छन् भने मर्मतका लागि लाखौं रकम खर्च हुने गरेको छ ।