रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले सबै जनप्रतिनिधिका लागि समान पोसाक बनाउने भएको छ । नगरकार्यपालिकाले नगरका सबै जनप्रतिनिधिको औपचारिक पोसाक बनाउने निर्णय गरेको छ । पोसाकका लागि नगरपालिकाले एउटा समिति बनाएको छ ।
कपडाको रंग छनौटका लागि वडा नम्बर ५ का वडाध्यक्ष समिरजंग मल्ल, १२ नम्बर वडाध्यक्ष धिरन सिर्पाली र कार्यपालिका सदस्य निर्मला नेपाली सम्मिलित ३ सदस्यीय समिति गठन भएको नगरपालिकाले जनाएको छ । जनप्रतिनिधिको पहिचानको लागि समान पोसाक निर्माण गर्न लागिएको नगरपालिकाको भनाई छ ।
नगरपालिकाका अनुसार उक्त समितिले छनौट गरे अनुसार जनप्रतिनिधिहरुको औपचारिक पोसाकको रंग निर्धारण गरिने छ । अहिले जनप्रतिनिधिको औपचारिक पोसाक कस्तो हुने भनेर कतै निर्धारण गरिएको छैन् । जसका कारण जनप्रतिनिधिले फरक फरक पोसाक लगाउने गरेका छन् ।