Kakhara सबैको खबर सम्पूर्ण खबर
हलमा सिडिओ, रिसेप्सनमा सहायक सिडिओ !
कार्यालय बाहिरै बसेर काम गर्दै जिल्ला प्रशासन कार्यालयका कर्मचारी ।

बैठक हल प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष । सहायक प्रमुख जिल्ला अधिकारीको कार्य सम्पादन रिसेप्सनबाट । सहायक स्तरका र प्राविधिक कर्मचारीको कार्यकक्ष अदली,बदली । यस्तै अवस्थाबाट गुज्रिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व । रुकुम पूर्व छुट्टै जिल्ला बनेदेखि नै जिल्ला प्रशासनले साविकको इलाका प्रशासन अर्थात सेवा केन्द्रबाट कार्य सम्पादन गर्दै आएको छ । २०७२ असोज ३ गते नयाँ संविधान जारी भयो । सोही संविधानमा साविकको रुकुम जिल्ला रुकुम पश्चिम र रुकुम पूर्व गरी दुई भागमा विभाजन भयो । यो कुरा संविधानको अनुसूचिमा उल्लेख छ ।

यसको २ वर्षपछि २०७४ असोज १९ गतेदेखि रुकुमकोटबाट जिल्ला प्रशासन कार्यालयले छुट्टै जिल्लाको कार्य सम्पादन थाल्यो । शाखा अधिकृतको नेतृत्वमा रहेको इलाका प्रशासन उप सचिव नेतृत्वको जिल्ला प्रशासन बन्यो । उप सचिव प्रमुख जिल्ला अधिकारी, शाखा अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी सहित १५ कर्मचारी दरबन्दी सहित जिल्ला प्रशासनले काम थाल्यो । दैनिक कामकाजका साथै समन्वयात्मक र अरु विभिन्न काम यसैबाट हुन थाले ।

तर हालसम्म पनि हरेक काममा सहजता भने छैन । भौतिक संरचना अभावमा प्रमुख जिल्ला अधिकारीदेखि सहयोगी सम्मको कार्य सम्पादन सहज छैन । भवन पर्याप्त छैन, कार्यकक्ष पर्याप्त छैनन् भएका पनि पुगेका छैनन् । पुगेका पनि साँघुरा छन् । सेवाग्राहीको चाप बढ्दै जाँदा काम गर्न समस्या छ । प्राय सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षबाट नागरिकता जारी हुन्छ । तर उक्त कार्यकक्षमा एक जना भन्दा दुई जना मान्छे जान सक्ने ठाउँ छैन ।

‘काम लिन गएका हामीलाई पनि साह्रै असजिलो छ,’ पुथाउत्तरगंगा गाउँपालिकाका रमेश बुढा मगरले भन्नुभयो, ‘काम गर्ने कर्मचारीले पनि सजिलै काम गरेको देखिन्न ।’ साँघुरा र होचा कोठाबाट प्रशासनका कर्मचारीले काम गरिरहेको बुढाले बताउनुभयो । सबै कामकाज असजिलो गरि भइरहेको देख्न सकिन्छ तर पनि यसको व्यवस्थापन हुन नसक्नु विडम्बना भएको अर्का सेवाग्राही कमला खत्रीले बताउनुभयो । ‘प्रशासन ठूलै अड्डा मान्निछ तर यहाँको संरचनाले त्यो गलत देखियो,’ खत्रीले भन्नुभयो । 

छुट्टै जिल्ला बनेको ३ वर्ष पूरा भइसकेको छ । तर कार्यालय उस्तै छ । अँझ विभिन्न कामकाजको सन्दर्भमा साँघुरिदै गएको छ । प्रशासनले सेवाग्राहीको सजिलोका लागि विभिन्न संरचना थपेको छ । पुस्तकालय, प्रतिक्षालय, खानेपानी तथा अरु अरु संरचना थप्दा भएको ठाउँ बढी उपयोग भएको छ । दैनिक कामकाज सम्पदानमा समस्या रहेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । कार्य सम्पादन गर्दा उभिएर गर्नुपर्ने बाध्यता उहाँले सुनाउनुभयो । प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको निवास छैन । पाहुना कक्ष छैन । भवन अभावमा सहायक प्रमुख जिल्ला अधिकारीको निवास प्रशासन परिसर बाहिरै बजारमा बनाइएको छ । 

कार्यकक्ष साँघुरो असजिलो हुँदा पनि सेवाग्राहीलाई सजिलै र सहज सेवा प्रवाहको प्रयास भैरहेको उहाँले बताउनुभयो । भवन निर्माणका लागि बजेट आएपनि त्यसले काम गर्न सक्ने अवस्था नरहेको प्रजिअ राईले बताउनुभयो । यसकै लागि एक करोड बजेट आएको छ । तर उक्त बजेट फ्रिज जाने हो । सदरमुकाम सम्बन्धिको विवाद नमिलेका कारण भवन निर्माणको प्रक्रिया नै अघि बढाइएको छैन । त्यसरी अघि बढाउन पनि मिल्दैन ।

विवादका भेला भौतिक संरचना निर्माणको काम त परको कुरा निर्णय नै नहुने प्रजिअ राईले बताउनुभयो । जिल्लाको स्थायी सदरमुकाम कहाँ हुने भन्ने विवाद हाल सर्वोच्च अदालतमा विचाराधिन छ । यसकै कारण बन्नुपर्ने कतिपय भौतिक संरचना बन्न सकिरहेका छैनन् । अस्थायी सदरमुकाम रहेको रुकुमकोटमै स्थायी सदरमुकाम कायम गर्नुपर्ने र पुथाउत्तरगंगा गाउँपालिका १२, गोल्खाडामा स्थायी सदरमुकाम कायम गर्नुपर्ने दावी छ । दुवैको विवाद भएपछि उक्त मुद्दा दुई वर्षदेखि अदालतमा विचाराधिन छ ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update