सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न रुकुमपूर्व सिस्ने गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकसँग करार सम्झौता गरेको छ । गाउँपालिकाले आधारभूत तथा माध्यामिक तहका प्रअसंग आइतबार ९ पृष्ठ लामो कार्य सम्पादन करार सम्झौता गरेको हो ।
गाउँपालिका भित्रका ३९ सामुदायिक विद्यालय मध्ये ३२ विद्यालयका प्रधानाध्यपकले सम्झौतामा हस्ताक्षर गरेका छन् । ८ माध्यामिक, २१ आधारभूत र ३ बालविकासमा अध्यापन गराई राखेका प्रअहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले बताउनुभयो । उहाँका अनुुसार सम्झौताको एक प्रति गाउँपालिकाले राखेको छ, भने एक प्रति सम्बन्धित विद्यालयका प्रअलाई दिइएको छ । विद्यालयका प्रअ तथा शिक्षकले तीन चरणमा कार्य सम्पादन गर्न सक्ने गरी सम्झौता गरेका छन् । सम्झौता गर्न नआएका विद्यालयका प्रअसँग पनि सम्झौता गर्ने गाउँपालिकाले जनाएको छ ।
एक महिनामा ४० अङ्कभारको काम गर्नुपर्ने
सम्झौता अनुसार नियुक्ति पाएको एक महिनामा १५ वटा काम गर्नुपर्ने छ । पूर्ण सरफाईका सात सूचकहरु पूरा गरी पूर्ण सरसफाई उन्मुख विद्यालय घोषणा गर्ने, निर्मित भौतिक संरचना पूर्ण रुपमा प्रयोग गरि सकेको हुनु पर्ने, शिक्षक, विद्यार्थी, र अभिभावकले पालना गर्नु पर्ने आचारसंहिता पालना गर्नुपर्ने, शिक्षक एक हप्ता मात्र विदा बस्न सक्ने र त्यो विदा सम्बन्धित प्रअले स्वीकृत गर्ने त्यो भन्दा बढि विदा माग भएमा विद्यालय व्यवस्थापन समितिमा आवश्यक निर्णय गरि गाउँपालिकामा पेश गर्ने गरि विद्यालयका प्रअले पालिकासँग सम्झौता गरेका छन् ।
दैनिक र वार्षिक कार्ययोजना बनाई पठनपाठन तथा अत्तिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, गाउँपालिकाले तयार पारेको शैक्षिक क्यालेन्डर हुबहु कार्यान्वयन गर्ने र विद्यालयमा रहेका शिक्षकहरुको कार्य विभाजन गर्नुपर्ने, विद्यालयमा शिक्षक तथा विद्यार्थी अनिवार्य पोशाकमा उपस्थित हुनु पर्ने, विद्यालय समयभित्र मोबाइल चलाउन नपाइने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौतामा उल्लेख भए बमोजिम हरेक दिन विहान २० मिनेट प्राथना र पिटि सञ्चालन गर्नुपर्ने, प्रत्येक कक्षामा कक्षा क्याप्टेन र सहायक क्याप्टेन नियुक्ति गर्नुपर्ने छ । माध्यामिक विद्यालयमा गाउँपालिकाको समन्वयमा अनिवार्य रुपमा सुरक्षा गाड नियुक्त गर्नुपर्ने, विद्यार्थीहरुमा निरन्तर मुल्याङकन पद्धति कार्यान्वयन गर्नु, विद्यालयमा कुनै शिक्षकले सट्टा शिक्षक राखेको भए हटाउन सम्झौतामा भनिएको छ । यि कामहरु सम्झौता भएको एक महिनाभित्र विद्यालयका प्रअ तथा शिक्षकले गर्नुपर्ने छ । गाउँपालिकाले यि कार्यहरु सम्पन्न गरे बापत विद्यालयका प्रअलाई ४० अङ्कभार दिइने छ ।
६ महिना ३० अङ्कभार
यसैगरि सम्झौता भएको ६ महिना भित्र ७ कार्यहरु प्रअले गर्नुपर्ने सम्झौतामा भनिएको छ । जसअनुसार विद्यालय सुधार योजना निर्माण गरि लागु गर्नुपर्ने, प्रत्येक चौमासिकमा अभिभावकहरुको वृहत भेला गराई सार्वजनिक सुनुवाई गर्नुपर्ने, एजेण्डामा आधारित रहि प्रत्येक महिनामा एक पटक स्टाफ मिटिङ र विव्यसको बैठक बसेको हुनुपर्ने, प्रत्येक दुई महिनामा एक पटक विद्यालयको समग्र अवस्थाको बारेमा गाउँपालिकामा प्रतिवेदन पेश गर्नुपर्ने पनि सम्झौता पत्रमा लेखिएको छ । पालिकाले तोके अनुसार सामाजिक लेखापरिक्षण र आर्थिक कारोबारको लेखापरिक्षण प्रतिवेदन पालिकामा पेश गर्नुपर्ने, गाउँपालिकाले निर्माण गरेका शैक्षिक क्यालेण्डर अनुसार अर्धवार्षिक र वार्षिक परिक्षा सञ्चालन गरि त्यसको नतिजा सम्बन्धित अभिभावकलाई जानकारी गराउने र गाउँपालिकाबाट विभिन्न शिर्षकमा विनियोजन हुने रकमको अभिलेख राख्नु पर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ ।
एक वर्षभित्रमा बाँकी ३० अङ्कभार
यसैगरी सम्झौता भएको एक वर्ष भित्रमा विभिन्न ३१ कार्यहरु सम्पादन गर्नुपर्ने छ । विद्यालयको शैक्षिक वातावरण, गुणस्तर र अनुशासन कायम राख्ने, विद्यार्थी उतिर्ण प्रतिशत तथा सिकाई उपलब्धी औषत कम्तिमा ६० प्रतिशत हुनुपर्ने, विद्यालयमा अतिरिक्त कक्षा टयुसन कोचिङ सञ्चालन गनूृपर्ने, शिक्षकको आचारण र कार्य सम्पादन पालिकामा जानकारी गराउनु पर्ने, कुनै शिक्षकले अध्यापन गरेको विषयमा लगातार तीन वर्षसम्म पन्ध्र प्रतिशत भन्दा बढी विद्यार्थी असफल भएमा वा कुनै शिक्षकले लापरबाहि वा अनुशासनहीन काम गरेमा त्यस्तो शिक्षकको दुई वर्षसम्म ग्रेडवृद्धि रोक्का गर्ने निर्णय तथा सम्झौता पनि प्रअसँग भएको छ ।
विद्यार्थीलाई अपेक्षित शैक्षिक उपलब्धी हासिल हुने गरि झिकाउने, टिकाउने र सिकाउने दायित्व प्रअ र शिक्षकको हुनेछ सम्झौता पत्रमा भनिएको छ । एक वर्षको अवधिमा पालिकाले प्रअसंग गरेको सम्झौता अनुासर कुल पूर्णाङ्ककको कम्तीमा ५० प्रतिशत अंक ल्याउन नसकेमा त्यस्तो प्रअको नियुक्ति खारेज गरी १० हजार देखि २५ हजारसम्म जरिमाना गरिनेछ प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाह र सम्बन्धित विद्यालयका प्रअले हस्ताक्षर गरिएको सम्झौता पत्रमा भनिएको छ । सम्झौताले गाउँपालिका भित्रका सवै विद्यालयका प्रअ तथा शिक्षकलाई बाधेको जनता मावि पोखराका प्रअ कलु खड्काले बताउनुभयो ।
सामुदायिक विद्यालयको पनपाठनलाई व्यवस्थित र गुणस्तरिय बनाउन करा सम्झौता गरिएको शिक्षा तथा खेलकुद शाखा प्रमुख बुढाले बताउनुभयो । सम्झौता अनुसारको कार्य सम्पादन प्रअबाट भए नभएको बारेमा पालिकाको टिमले अनुगमन नियमन तथा मूल्याङ्कन गर्ने बुढाको भनाई छ । “पालिकाले सम्बन्धित प्रअसँग सम्झौता ग¥यो” बुढाले भन्नुभयो –“प्रअले सम्बन्धित शिक्षकसँग सम्झौता गर्न सक्ने छन् ।” हामीसँग भएको सम्झौता बमोजिमको काम गर्न बाधा परे शिक्षकसँग पनि सम्झौता गर्नुस् भनेका छाँै ।
सम्झौतामा भएका बूदाहरु कार्यान्वय गर्न गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने पालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । सिस्ने गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेटमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष रेग्मीले बताउनुभयो ।