रुकुम पश्चिममा पनि विभिन्न कार्यक्रम गरी ६७ औं प्रहरी दिवस मनाइएको छ । दिवसका अवसरमा केही दिन देखि विभिन्न कार्यक्रम संचालन भएकामा आज मुख्य दिन मञ्चको कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय परिषरमा दिवस विशेष कार्यक्रम भएको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद सोतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्ला प्रहरी कार्यालय परिषरमा रहेको अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो ।
दिवसको अवसरमा उत्कृष्ट काम गर्ने ७ जना प्रहरी कर्मचारी सम्मानित भएका छन् । जिल्ला प्रहरीलाई विभिन्न सहयोग गर्ने १० जना समाजसेविलाई पनि सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।
दिवसको अवसरमा संचालित विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ भने इलाका प्रहरी कार्यालय सिम्रुतुलाई निःशुल्क जग्गा दिने तीन जना जग्गा दाताहरुलाई पनि सम्मान गरिएको उहाँले बताउनुभयो । दिवसका अवसरमा आन्तरिक तर्फ पुरुष ब्याडमिन्टन, टेबल टेनिस, ५ किलोमिटर दौड, घैंटोफोर प्रतियोगिता आयोजना गरिएको थियो ।
त्यस्तै रसाकसी, भाले तान्ने, महिला तर्फ म्युजिकल चेयर, चम्चा रेस र रिले दौड तथा प्रहरी कर्मचारीका बालबालिका तर्फ चम्चा रेस र म्युजिकल चेयर प्रतियोगिता आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिवसको अवसरमै पूर्व प्रहरी कर्मचारी १ जना र पूर्व प्रहरी संगठनलाई निःशुल्क कोठा दिने १ जनालाई सम्मान गरिएको छ ।
अमर प्रहरीका परिवारलाई समेत सम्मान गरिएको थियो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय परिषरमा वृक्षारोपण, स्थानीय र प्रहरीका लागि स्वास्थ्य जाँच शिविर, बजार सरसफाइ, ट्राफिक सचेतना कार्यक्रम र सर्वसाधारणलाई सुरक्षा चुनौति, प्रहरी र नागरिकको सम्बन्ध लगायतको विषय समेटिएको भिडिओ देखाइएको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।
दिवस विशेष कार्यक्रममा नरसिंह दल गण सल्लेका गणपति प्रमुख सेनानी प्रमोद शर्मा, सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गोबिन्दबहादुर केसी, अनुसन्धान प्रमुख होमराज रेग्मी, जिल्ला स्थित विभिन्न कार्यालय प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रहरी निरीक्षक राजिव श्रेष्ठले गर्नुभएको थियो ।