लुम्बिनी प्रदेशका निवर्तमान सभामुख एवम् नेकपा माओबादी केन्द्रका नेता पूर्णबहादुर घर्ती मगरले संविधानको रक्षा र त्यसको अक्षरशः कार्यान्वयनका लागि सत्ता गठबन्धनलाई जिताउनु पर्ने बताउनुभयो । सङ्घीय संविधान जारी भएको यतिका वर्ष बित्दा पनि संविधानका मुलभूत मुद्दाहरूमै सरकारले प्रदेश र स्थानीय सरकारहरूलाई पूर्ण अधिकार दिन नसकेको बताउनुभयो ।
रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य सत्ता गठबन्धनका साझा उम्मेदवार एवम् निवर्तमान सभामुख घर्ती मगरले सोमबार रुकुमकोटमा आयोजित पत्रकार सम्मेलनमा आसन्न निर्वाचनले संविधानका उपलब्धिहरूको रक्षा र कार्यान्वयनका लागि सत्ता गठबन्धन दलको जित महत्त्वपूर्ण हुने बताउनुभयो ।
“संविधान जारी भएको यतिका वर्ष भयो । तर, सङ्घीयता कार्यान्वयनमा चुनौती देखिएको छ । सङ्घीयता कार्यन्वयनका क्रममा प्रतिगमनकारी राजनीतिक शक्तिका कारण चुनौती देखिँदै छ” घर्ती मगरले भन्नुभयो –“जनताको त्याग र बलिदानीबाट जारी भएको सङ्घीयतालाई कार्यान्वयनका लागि वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने आवश्यक छ ।” सङ्घीयतालाई सिद्ध्याउने तर्फ अग्रसर भएका प्रतिगमनकारी दललाई निमिट्यान्न गरी संविधानको रक्षा र संविधानमा उल्लेख गरिएका जनताका अधिकार, जनतालाई नै अधिकार सुम्पिने वाम–लोकतान्त्रिक गठबन्धनको मुख्य उद्देश्य रहेको घर्ती मगरको भनाइ रहेको छ ।
समुदाय, वर्ग, लिङ्ग सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी वाम–लोकतान्त्रिक गठबन्धनले जिल्लामा साझा उम्मेदवार छनोट गरी पठाएको प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य माओबादी केन्द्रका तेजबहादुर ओलीले बताउनुभयो । पार्टी र गठबन्धनको निर्णय विपरित स्वतन्त्र उम्मेदवार बन्नु भएका पार्टीका नेताकार्यकर्तालाई निष्कृय भई राष्ट्रको भावनालाई ध्यानमा राखि गठबन्धनका साझा उम्मेदवारलाई समर्थन गर्न ओलीले आह्वान गर्नुभयो । पार्टीको निर्णय तथा निर्देशन विपरित गतिविधिले कसैलाई पनि फाइदा नहुने ओलीले बताउनुभयो ।
यसैगरी प्रदेश नम्बर २ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका धनबहादुर केसीले पनि गठबन्धनको जित सुनिश्चित रहेको बताउनुभयो । गएको स्थानीय तहको चुनावमा केही एक/दुई ठाउँमा स्वतन्त्र उम्मेदवारले जितेको भरमा पार्टीको विपरित स्वतन्त्र उम्मेदवारको भविष्य नरहेको केसीले बताउनुभयो । त्यसैले प्रतिगमन शक्तिलाई पराजित गर्नका लागि वाम–लोकतान्त्रिक गठबन्धनको आवश्यक भएको केसीको भनाइ रहेको थियो ।