रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार तारक केसीले सुशासन र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । आज मुसीकोटमा पत्रकार सम्मेलन आयोजना गरी केसीले जिल्लाको समृद्धि, विकास र सुशासनका लागि आफुले उम्मेदवारी दिएको स्पस्ट पार्नुभएको हो ।
उहाँले आफ्नो उम्मेदवारी कोही व्यक्ति र पार्टीका विरुद्ध नभएको पनि बताउनुभएको छ । ‘मैले कोही सिमित पात्र र पार्टीका विरुद्ध उम्मेदवारी दिएको होइन्, मेरो उम्मेदवारी भ्रष्टाचार र अराजकताका विरुद्ध हो, गलत प्रवृत्तिका विरुद्ध हो उहाँले भन्नुभयो ।’ केसीले राजनीतिक दलहरु प्रति भने कडा टिप्पनी गर्नुभयो । नेपालका राजनीतिक दलहरु निर्माण कम्पनी जस्ता भएको उहाँको टिप्पनी छ ।
सिण्डिकेट र मोलमोलाइबाट नेपाली राजनीतिक दलहरु अगाडी बढिरहेकोले राजनीतिप्रति नागरिकमा वितृष्णा बढिरहेको उहाँले बताउनुभयो । साथै उहाँले आफुले जनतालाई कुनै ठुला आश्वासन नदिने बताउनुभएको छ । ‘म कुनै ठूला आश्वासन दिने र ठुलठुला योजना देखाएर मत माग्ने पक्षमा छैन्, उहाँले भन्नुभयो–राजनीतिक दलहरुले बोल्ने, आश्वासन दिने एउटा र गर्ने अर्को भएकोले नागरिकहरु आजित भइसकेका छन् ।’
आफुले चुनाव जितेमा जिल्लामा वर्षौ देखि अधुरा रहेका योजनाहरुलाई पूर्णता दिन ध्यान केन्द्रित गर्ने उहाँले बताउनुभयो । स्तरीय सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, प्राकृतिक स्रोत साधनको प्रयोग र संरक्षणमा विशेष योजनाका साथ अघि बढ्नुपर्ने भन्दै आफुले अवसर पाए यि कुरामा ध्यान केन्द्रीत गर्ने उम्मेदवार केसीले बताउनुभयो ।
मंसिर ४ मा चुनाव हारे पुनः कांग्रेसमा फर्किनुहुन्छ कि स्वतन्त्र भइराख्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उहाँले राजनीतिक प्रश्न नसोध्न आग्रह गर्नुभयो । राजनीति सम्भावनाको खेल भएकोले भोली के हुन्छ भनेर आफुले अहिले भन्न नसक्ने उहाँको जवाफ थियो । उहाँले रुकुम पश्चिमको ऐतिहासिक ठाउँ खाराबाट शान्तिका प्रतिक परेवा उडाएर चुनाव प्रचार सुरु गर्ने समेत जानकारी दिनुभयो ।
केसी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध चुनावी मैदानमा हुनुहन्छ । त्यस्तै एमालेका तर्फबाट नन्दराम देवकोटा, राप्रपाका दिपककुमार मल्ल र स्वतन्त्रबाट राजन पाण्डे प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्दै हुनुहुन्छ ।।