सूचना प्रविधिको बढ्दो प्रयोग र पहुँच विस्तारसंगै अनलाइन सञ्चार माध्यमको तिव्र विकास हुँदै थियो । रेडियो, पत्रपत्रिका, टेलिभिजनसंगै अनलाइन सञ्चार माध्यमले आफ्नो स्थान स्थापित गर्ने तिव्र प्रयास गरिरहेका बेला एम.पि.सी मिडिया प्रा.लि.ले kakhara.com सुरु गरेको आजबाट दोस्रो वर्ष पुरा भएको छ । २०७७ साल कार्तिक १ गतेबाट सुरु भएको हाम्रो यात्रा आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । एम.पि.सी मिडिया प्रा.लि.द्धारा संचालित kakhara.com को वार्षिकोत्सवका अवसरमा म सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरुमा हृदयदेखि नै शुभेच्छा प्रकट गर्न चाहन्छु ।
सबैको खवर, सम्पूर्ण खवर ! भन्ने नारालाई आत्मसाथ गरी हामी अघि बढिरहेका छौं । रुकुम जस्ता सूचना प्रविधिको पहुँचमा विस्तारै पुग्दै गरेका जिल्लामा अनलाइन न्युज पोर्टल संचालन गर्ने कुरा आँफैमा चुनौतिपूर्ण थियो । तर हामीले उक्त चुनौतिलाई सहर्स स्वीकार गर्दै एउटा सुनौलो यात्राको सुरुवात गरेका थियौं । सुरुवातमा कयौं आशंका, थोरै डर, अनि तिव्र इच्छा शक्ति थियो । आजको दिनमा उभिएर सुरुवातका दिनलाई समिक्षा गर्दा थप नयाँ गर्ने जोश र जाँगर पैदा भएको छ । सयौंको संख्यामा जिल्ला जिल्लामै अनलाइन न्युज पोर्टलहरु संचालनमा आउने तर विचमै हराउने नियतिको सिकार कतै हामी पनि हुने त होइन भन्ने डर अहिले पूर्ण रुपमा हटेको छ । हामी सम्पूर्ण पाठकहरुलाई विश्वास दिलाउन चाहन्छौं यो दुई वर्षको अवधिमा तपाईहरुले जुन माया र साथ हामीलाई दिनुभयो यसले हामीलाई विचमै निभ्न दिने छैन, निभ्ने छैनौं ।
समाजका हरेक सकारात्मक, नकारात्मक गतिविधिमा हाम्रो प्रत्यक्ष निगरानी छ । समाजका राम्रा पक्षलाई थप प्रोत्साहन र समाजलाई हानि गर्ने हरेक घटनामा हाम्रो निरन्तर खबरदारी र निगरानी रहिरहने छ । समाजका हरेक पाटोको सूक्ष्म अध्यन र त्यसको विश्लेषण भईरहने छ । अनियमितता, भ्रष्टाचार, वेतिथि, कुसंस्कार, कुरीति, अन्धविश्वासका विरुद्ध र समाज विकासको हितमा हाम्रो कलम चलिरहेको छ र चलिरहने छ । यसका लागि तपाइहरुको निरन्तर साथ सहयोग र सुझावको तिव्र आकांक्षा हामीले हिजो पनि रोखेका थियौं, आज पनि राखेका छौं र भोलीका दिनमा झन त्यसको अपरिहार्यता बढ्ने छ । समाज समुन्नत बनोस, प्रत्येक नागरिकको आयस्तरमा वृद्धि होस्, सुशासन कायम होस, व्यतिथि, अराजकता हटोस, यसमा स्थानीय, प्रदेश र केन्द्रीय सरकार गम्भिरताका साथ लागुन, संघीयता बलियो होस् भन्ने हाम्रो अपेक्षा छ ।
अन्त्यमा, म फेरि हाम्रा सम्पूर्ण सहकर्मी, पाठकवृन्द, विज्ञापनदाता, लगायत सबै सहयोगी एवं शुभेच्छुक महानुभावहरूलाई दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । साथै नजिकिदै गरेको नेपालीहरुको महान चाड शुभ दिपावलीको पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।