Kakhara सबैको खबर सम्पूर्ण खबर
मेलगैरी हत्याकाण्डका २५ वर्ष
मेलगैरीमा मारिएकाहरु ।

मेलगैरी हत्याकाण्डको २५ वर्ष पूरा भएको छ । २०५२ साल फागुन १५ गते रुकुम जिल्ला अर्थात रुकुम पश्चिमको साविक पिपल गाविसको मेलगैरीमा ६ जना खत्रीबन्धुको हत्या भएको थियो । प्रहरीले ६ जनाको एकै साथ हत्या गरेको थियो । तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १५ औं दिनमा मेलगैरी हत्याकाण्ड भएको थियो । जनयुद्ध घोषणापछिको पहिलो सामुहिक हत्याकाण्ड मेलगैरी हत्याकाण्ड हो ।

फागुन १४ गते गोरखाका दिलबहादुर रम्तेलको हत्या गरेको प्रहरीले १५ गते मेलगैरीमा पिपलका ६ जना खत्रीबन्धुको एकै चिहान बनाएको थियो । बाँफिकोट प्रहरी चौकीबाट प्रहरीको टोलीले मेलगैरीको एक घरमा बसिरहेका सर्वसाधारणको हत्या गरेको हो । उक्त हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएर २६ वर्षमा प्रवेश गरेको छ । मेलगैरीमा कलबहादुर खत्री, लालबहादुर खत्री, पशुपति खत्री, दलबहादुर खत्री, मनबहादुर खत्री र १५ वर्षीय खड्कबहादुर खत्रीको हत्या भएको थियो ।

हाल मेलगैरी बाँफिकोट गाउँपालिका २, मा पर्दछ । फागुन १३ गते स्थानीय शिक्षक नरजित बस्नेतमाथी हमला भएको थियो । बस्नेतको हात काटिएपछि उनिहरुकै उजुरीका आधारमा पिपलमा प्रहरी आएको थियो । फागुन १४ गते बेलुका पिपल पुगेको प्रहरी टोली राती राती मेलगैरी पुगेर उनिहरुको हत्या गरेको थियो । ६ जनाको हत्या गरेर अरु केहीलाई पक्राउ गरी प्रहरीले केही दिनसम्म कारागारमा राखेको थियो । कृषि गरेर जिविकोपार्जन गरिरहेका सर्वसाधारणलाई प्रहरीले माओवादीको आरोपमा हत्या गरेको थियो ।

यद्यपी उनिहरु ६ जना नै सर्वसाधारण किसान र विद्यार्थी थिए । पीडित परिवारले राज्यबाट राहत स्वरुप नगद प्राप्त गरेका छन् । यद्यपी घटनाका दोषिलाई कारबाही भएको छैन । विनाकारण अभिभावक, आफन्त गुमाएकाको पीडा हरेक वर्ष बढ्दै गएको छ । पार्टीले पनि पहिलेको जस्तो वास्ता गर्न छाडेको छ भने सरकारले पनि सहिद परिवार लक्षित कार्यक्रम गर्न सकेको छैन ।

मेलगैरीमा स्मृति सभा
घटना भएको २५ वर्ष पूरा भएपछि मेलगैरीमै स्मृति सभा हुँदै छ । नेकपाको २ नम्बर वडा पार्टीले मेलगैरीमै सहिदको सम्झना गर्ने कार्यक्रम तय गरेको हो । घटना स्थलमै सहिदको सम्झना गर्ने, सहिद परिवारसँग अन्तरक्रिया र घटना प्रत्यक्ष रहेकाहरुको अनुभव सुन्ने कार्यक्रम बनाइएको नेकपाका वडा सचिव मैसर बुढाक्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रममा नेकपाको कर्णाली प्रदेश सदस्य महेन्द्र केसी, धर्मबहादुर केसी, इन्दिरा बुढा लगायतका नेताहरुको उपस्थिति रहने जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  ०६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update