Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिकाले संचालन गर्यो चौरजहारी–मुसिकोट नगर वस 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सदरमुकाम मुसिकोटसम्म नगर वस सेवा सुरु गरेको छ । यसअघि नगरभित्रै वस संचालन गरिरहेको नगरपालिकाले पहिलो पटक नगरपालिका बाहिरसम्म सेवा विस्तार गरेको हो । 

विभिन्न कामकाजका लागि सदरमुकाम मुसिकोट पुग्न सहज होस भनेर नगर वस सेवा सुरु गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । चौरजहारी देखि मुसीकोटसम्मका लागि आजबाट नगर वस संचालन सुरु भएको उहाँले बताउनुभयो । 

अव देखि चौरजहारीबाट हरेक दिन बिहान ७ः३० बजे नगर बस मुसिकोटका लागि छुट्ने छ भने मुसिकोटबाट अपरान्ह ४ बजे चौरजहारीका लागि बस छुट्ने छ । नगरवासीलाई सहज र सस्तो यातायात सेवा दिन असोज २६ गतेको नगरकार्यपालिका बैठकले चौरजहारी–मुसिकोट नगर वस संचालन गर्ने निर्णय गरेको थियो । 

चौरजहारी देखि मुसिकोटसम्मको भाडा ४ सय ७० कायम गरिएको छ । अन्य सवारी साधनले ६ सय बढी भाडा लिने गरेका छन् । चौरजहारी नगरपालिकासंग ५ वटा वस छन् । विभिन्न प्रशासनिक सेवाका लागि सदरमुकाम मुसिकोट पुग्न चौरजहारीवासीले भोग्दै आएको सास्ती अव कम हुने भएको छ । 

यसअघि नियमित र उचित समयमा यातायातका साधन नचल्दा एक दिनमै हुने कामका लागि २ दिनसम्म वस्नु पर्ने र काम सकिदा पनि समयमै घर फर्किन नपाइने बाध्यता थियो । ४ बजेसम्म काम सकिदा पनि गाडी नपाइदा सदरमुकाममै वस्नुपर्ने बाध्यता अव भने हट्ने भएको छ । चौरजहारी रुकुम पश्चिममा नगर वस संचालन गर्ने पहिलो र एक मात्र स्थानीय तह हो ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update