रुकुम पूर्व भूमे गाउँपालिकामै पहिलो पटक ग्रामीण सडक कालोपत्रे हुने भएको छ । भूमे–३ सिसाघारी–सिमा–झुम्लाबाङ–राङ्सी ग्रामीण सडक खण्ड कालोपत्रे हुने भएको हो ।
स्थानीय पूर्वाधार विभाग, ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी)को आयोजना र एशियाली विकास बैंकको आर्थिक सहयोगमा उक्त सडक कालोपत्रेको जिम्मा लिएको छ । सडक मर्मतको लागि सम्पूर्ण काम सकिएर अन्तिम वातावरणीय सार्वजनिक परीक्षण पनि गरिसकिएको र अब छिटै ठेक्का प्रक्रियामा लैजाने तयारीमा रहेको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो ।
उक्त सडक खण्ड मध्ये हाल सिसाघारी–सिमा–झुम्लाबाङ ६ किलोमिटर सडक कालोपत्रे हुने भएको हो । सडक कालोपत्रेको लागि बजेट २१ करोड ६० लाख ४१ हजार ६ सय ९४ रुपैयाँ रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । साथै सडकको चौडाइ ५ दशमलव २५ मिटरको कालोपत्रे हुने पनि उहाँले जानकारी दिनुभयो ।