रुकुम पश्चिम को बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ को सिमाना बरापाटामा सहिद स्मृति मेला सुरु भएकाे छ। कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री रातो कामीले मेलाको उद्घाटन गर्नु भएको हो । हरेक वर्ष असोज २४ गते देखि सञ्चालन हुने मेला बर्षातका कारण यो वर्ष कात्तिक ३ गते देखि सुरु भएकाे हाे । सहिद स्मृति मेला संयोजक हरि बहादुर खत्रीको अध्यक्षता रहेकाे कार्यक्रममा कर्णाली प्रदेश सरकारका जलश्रोत तथा उर्जा विकास मन्त्री रातो कामीकाे प्रमुख आतिथ्यता रहेको थियो
त्यस्तै प्रदेश सभा सदस्य तथा आर्थिक मामिला तथा योजना मन्त्री गाेपाल शर्मा, बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठा मगर उपाध्यक्ष, तारा बुढा केसी,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य धर्मबहादुर केसी, १० वटै वडाका वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी लगायतकाे उपस्थित रहेको थियो । मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।
सहिद स्मृति मेला व्यवस्थापन समितिले महिला पुरुष भलिबल प्रतियोगिता, महिला पुरुष डबल ब्याटमिन्टन र लोक दोहोरी प्रतियोगिताको आयोजना गरेको छ । त्यस्तै घैंटोफोर र भाले तान्ने प्रतियोगिता पनि आयोजना गरिएको मेला संयोजक हरिबहादुर खत्रीले जानकारी दिनुभयो । पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमले नगद एक लाख १ हजार रुपैँयाको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै दोस्रो हुने टिमले नगद ६० हजार १ सय, कप, मेडल र प्रमाणपत्र हात पार्दा सेमिफाइनल पुग्ने २ टिमले समान २० हजार १ सय, मेडल र प्रमाणपत्र पाउँने छन् ।
त्यस्तै महिला भलिबल प्रतियोगिता तर्फ प्रथमले २० हजार, १५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्र हात पार्दा सेमिफाईनलसम्म पुग्ने २ टिमले समान ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । पुरुष ब्याडमिन्टनको विजेता जोडिले नगद २० हजार, मेडल र प्रमाणपत्र पाउँदा दोस्रो बन्ने जोडीले नगद १५ हजार, मेडल र प्रमाणपत्र तथा सेमिफाईनलसम्म पुग्ने २ जोडीलाई समान नगद ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
महिला ब्याटमिन्टन तर्फ भने प्रथम र दोस्रो बन्ने जोडीले क्रमशः १० हजार, ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाई छ । सेमिफाइनल पुग्ने २ जोडीले समान ४ हजार, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै लोक दोहोरी प्रतियोगिताको प्रथमले ५ हजार, द्धितियले ३ हजार र तृतियले २ हजार सहित प्रमाणपत्र पाउँदा भाले तान्नेले नगद २ हजार र घैंटो फोर्नेले नगद १ हजार रुपैंया पाउने मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।