Kakhara सबैको खबर सम्पूर्ण खबर
आचारसंहिता पालना गराउन निर्वाचन कार्यालय रुकुम पूर्वको सक्रियता
पुथाउत्तरगङ्गा गाउँपालिकामा पालिका स्तरीय निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरू । 

आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको आचारसंहिता पालना गराउन जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वले तन्मयता देखाएको छ । राजनीतिक दल, स्थानीय तथा अन्य सरोकारवाला निकायलाई निर्वाचन आचारसंहिता पालना गराउनका लागि जिल्ला निर्वाचन कार्यालयले जिल्ला स्तर हुँदै पालिका स्तर सम्म निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिराखेको छ । 

जिल्ला स्तरीय निर्वाचन आचारसंहिता सम्बन्धी कार्यक्रम समय–समयमा गराइ राखेकोमा गाउँ/गाउँ सम्म पनि निर्वाचन आचारसंहिता सम्बन्धी कुरा जानकारी होस् भनी जिल्ला निर्वाचन कार्यालयले पालिका स्तरमै पुगेर स्थानीय तहको सहकार्यमा पालिका स्थित राजनीतिक दल र स्थानीयसँग अन्तरक्रिया कार्यक्रम गरिराखेको छ । बिहीबार मात्र जिल्लाको भौगोलिक हिसाबले विकट र धेरै वडा रहेको पुथाउत्तरगङ्गा गाउँपालिकामा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । 

निर्वाचन आयोगले पत्रचार गरे अनुसार निर्वाचन आचारसंहिता कार्यन्वयन गर्ने र गराउनका लागि जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सम्बन्धी कार्यक्रम जिल्लामा तिब्र पारेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताउनुभयो । जस अन्तर्गत स्थानीय राजनीतिक दल र जनप्रतिनिधि, स्थानीय लगायतसँग निर्वाचन आचारसंहिता जानकारी गराइ राखिएको र अन्तरक्रिया कार्यक्रमलाई प्रभावकारी ढङ्गले निरन्तरता दिराखिएको ओलीले बताउनुभयो । 


राजनीतिक दल र स्थानीयसँगको अन्तरक्रिया कार्यक्रमले निर्वाचन अवधिभर आचारसंहिता कार्यन्वयन प्रभावकारिता हुने विश्वास लिएको निर्वाचन अधिकारी ओलीको भनाइ रहेको छ । आगामी दिनमा पनि स्थानीय सरकारको सहकार्य तथा आवश्यकताको आधारमा आचारसंहिता सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । साथै आचारसंहिता पालना भए नभएको अवस्थाबारे पनि अनुगमन समेत भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  


 

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update