नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसंगै रुकुम पश्चिमका विभिन्न बजार क्षेत्रका पसलहरु प्लाष्टिकका मालाले भरिभराउ हुन थालेका छन् । केही दिन अघि अघि मात्रै फुलमाला नदेखिने बजार क्षेत्रका पसलहरुमा हिजो आज भने तिहारलाई लक्षित गरेर माला लगायतका सामग्रिहरु भरिभराउ छन् । बजारका ठाउँ ठाउँमा तिहार लक्षित सामग्रिहरु राखिएका छन् । भाइ टिकाको दिन नजिकिएसंगै सदरमुकामका खलंगा, बागबजार, सल्ले, सेरिगाउँ लगायतका बजार क्षेत्रका पसलहरुमा माला र तिहारका सामग्रिले रंगिएका छन् ।
तर बजारमा पाइने सबै माला प्लाष्टिककै हुन् । जिल्लामा सयपत्रीको माला बिक्रिको प्रचलन छैन् । ठूला सहरमा सयपत्रीको मालाको ठूलो व्यापार हुने गरेको भएपनि रुकुम पश्चिममा भने प्लाष्टिककै मालाको भर पर्नुपर्छ । जिल्लामा वर्षेनि ठूलो मात्रामा प्लाष्टिकका माला खपत हुने गरेका छन् । प्लाष्टिकका रेडिमेट माला बाहेक फूलबाट बनेका माला पाइदैनन् । जिल्लामा फूलको मालाको खासै बजार नरहेको व्यापारीहरु बताउँछन् । फूलका माला छिट्टै विग्रिने भएकोले प्लाष्टिककै माला बढि किनमेल हुने गरेको व्यापारीहरु बताउँछन् ।
तिहारमा मालासंगै ढाँकाको टोपीको पनि उत्तिकै माग हुने गरेको खलंगा बजारमा कस्मेटिक पसल गर्दै आउनुभएकी गीता पोख्रेलले बताउनुभयो । तिहारका लागि माला र ढाँकाको टोपी बुटवल, दाङ लागयतका ठाउँबाट ल्याएर बिक्रि गर्ने गरेको उहाँले बताउनुभयो । गतवर्ष भन्दा यो वर्ष माला र टोपीको व्यापार राम्रो हुने विश्वास उहाँको छ । त्यस्तै बागबजारमा कस्मेटिक पसल गर्दै आउनुभएकी रिमा मल्लले पनि रेडिमेट माला तथा अन्य सामग्रिको माग धेरै रहेको बताउनुभयो ।
फूलको व्यवसायिक उत्पादन नुहुँदा तिहारमा प्लाष्टिककै मालाको भर पर्नुपरेको छ । गाउँघरमा विभिन्न जातका फूलको सामान्य उत्पादन हुने गरेको छ । तर तिहारका लागि फूल किनेर माला बनाउने बानीको विकास नहुँदा यसको व्यापार सुरु नै हुन सकेको छैन् । सरकारले भने प्लाष्टिकका माला विक्रि वितरणमा रोक लगाएको छ । सरकारले प्लाष्टिकजन्य मालाको विक्रि वितरण नगर्न र गरेको पाइएमा एक लाख रुपैंयासम्म जरिवाना गर्ने चेतावनी दिएको छ । तर जिल्लामा खुलेआम प्लाष्टिकका माला बिक्रि भइरहेका छन् ।