Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकाेट २ ले गाेरेटाे बाटाेमा साढे २२ लाख रुपैंया खर्च गर्दै

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर २ ले गोरेटो बाटो निर्माण तथा मर्मत गर्ने भएको छ । वडाले यस वर्ष गोरेटो बाटो निर्माण तथा मर्मतका लागि बजेट बिनियोजन गरेको हो । अघिल्लो सरकारले निर्माण गरेका दुई वटा गोरेटो बाटाहरु मर्मत गर्न लागिएको २ नम्बर वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो । वडाको दह देखि डाँडाई खाली सम्मको गोरेटो बाटो र मुरापाटा देखि मोख्याडेरा हुँदै डैडाँडासम्मको गोरेटो बाटो मर्मत गरिने छ । उक्त दुई बाटोको लागि समान ५/५ लाख रकम बिनियोजन गरिएको अध्यक्ष खत्रीले बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको १६ लाख ६७ हजार ६ सय ७४ रुपैयाँ   र वैदेशिक रोजगार विभागबाट ५ लाख ९९ हजार २ सय ५० रुपैयाँ  गरी जम्मा २२ लाख ६६ हजार ९ सय २४ रुपैयाँ  वडामा आएको छ । कुनाखेत विद्यालय देखि थारकट्टे विद्यालयसम्म गोरेटो बाटो निर्माणको लागि ५ लाख ९९ हजार २ सय ५० रुपैयाँ र स्वाँरा देखि भाटीसम्म गोरेटो बाटोका लागि ६ लाख ६७ हजार ६ सय ७४ रुपैयाँ  खर्च हुने भएको छ । उक्त गोरेटो बाटो नयाँ निर्माण गर्न लागिएको हो । 

वडामा आएको उक्त बजेट बाट सामान खरिद गर्न नमिल्ने भएको हुदाँ  गोरेटो बाटोलाई मुख्य प्राथमिकता दिएको वडाध्यक्षको भनाई छ । बाटो मर्मत तथा निर्माण गर्दा आवतजावतमा स्थानीयलाई सहज हुने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update