रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ मा अवस्थित मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा अध्यनरत ८ जना विद्यार्थीहरुले छात्रवृत्ति पाएका छन् । क्याम्पसमा रहेकाे चन्द्रकान्त, यज्ञश्वर र यमुना शर्मा स्मृति अक्षय कोषबाट जेहेनदार, गरिव, विपन्न तथा अपांग, सहिद परिवारका र उत्कृष्ट गरी ८ जना विद्यार्थीहरुले छात्रवृत्ति पाएका हुन् । अक्षय कोषको व्याजबाट जेहेन्दार तर्फ भरतकुमार ओली, धारणा ओली, चन्द्रमा ओली र सीता खड्कालाई समान ३ हजार ५ सय, गरिव तथा विपन्न एवं अपांग तर्फ दुर्गा रोकाय र रामप्रसाद रोकालाई समान ३ हजार, सहिद परिवार तर्फ सहिद पुत्र कमल पाण्डेलाई ३ हजार र मध्य पश्चिमाञ्चल विश्वविद्यालय दोस्रो सेमेस्टरमा क्याम्पस प्रथम हुने जेहेनदार छात्रा खिमा पुन मगरलाई ५ हजार नगद र प्रमाण पत्र प्रदान गरेको क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।
२०७२ सालमा स्थापना भएको अक्षय कोष मार्फत वर्षेनि विभिन्न शिर्षकमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने गरिएको छ । अक्षय कोषको व्याजबाट क्याम्पसले क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरेको छ । एक कार्यक्रमको आयोजना गरी शुक्रबार छात्रवृत्ति वितरण गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख इन्दिरा बुढाको प्रमुख र मुसीकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक शुशिल गौतमको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा चन्दकान्त, यज्ञश्वर, यमुना शर्मा स्मृति अक्षय कोषका स्थापनाकर्ता सुशीला शर्माको पनि उपस्थिति रहेको थियोे ।
क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उप प्राध्यापक हर्कबहादुर ओलीले गर्नुभएको थियो । सोही कार्यक्रम मार्फत प्रजातन्त्र दिवसको अवसरमा भएको हिज्जे प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई प्रमाणपत्र समेत वितरण गरिएको थियोे ।