रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बजार अनुगमणबाट ४९ हजार ६ सय ५० राजस्व संकलन गरेको छ । नगरपालिका भित्रका विभिन्न बजार क्षेत्रमा अनुगमन गर्दा दर्ता तथा नविकरण नगरेका पसलहरुबाट ४९ हजार ६ सय ५० रुपैंया राजस्व संकलन भएको हो । १ र २ नम्बर वडाका नयाँ बजार, मेलैनाउली, नार्जी लगायतका बजार क्षेत्रमा अनुगमन गरेको नगरपालिकाले जनाएको छ ।
३ दिन लगाएर किराना, खाद्यान्न र होटल गरी १ सय १ वटा पसलहरुमा अनुगमन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ति अनुगमन गरिएका पसलहरु मध्य धरै पसलहरु दर्ता तथा नविकरण नगरेरै सञ्चालन गरेको पाएको छ । किराना, खाद्यान्न तथा मदिरा पसलहरुबाट म्याद गुज्रिएका सामान बरामद समेत गरिएको छ ।
बरामद गरिएका सामान ११ हजार ४ सय ३५ रुपैंया बराबरका रहेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । नगरपालिकाले कात्तिक २, ३ र ४ गते बजार अनुगमन गरेको थियो । पसल व्यवसायीलाई आफ्नो दायित्वको बारेमा जानकारी गराउनुका साथै व्यवसायीका समस्या, गुनासा र सुझावहरु पनि संकलन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले दशैं अघि पनि विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको थियो ।