सम्झिरहेछु पल्लोघरे काकाले बेसरी आफ्नै आमालाई गाली गरिरहेको, तल्लो घरको बुढा बालाई उसकै नातीनातिनाले झपारिरहेको, उता छिमेकी दिदीले आफ्नै सासुलाई यस्तो हुनुभन्दा त नभएकै राम्रो भनिरहेको ! मेरा कानमा गुन्जिरहेछन ती बुढा अनि अशक्त मान्छेले हे दैव बरु मलाई चाडै लैजा यस्तो दुःख दिनुभन्दा बरु बाँचेर पनि जिउदै मरिरहेका छौं हामी भनिरहेको, कोही खाना नपाएरै छट्पटाइरहेको त कोही सबै परिवार भएर नि एक्लो जीवन बाँचिरहेका छौं भनेको, कोही यस्तो जीवन बाँच्न नै छैन भन्दै आफ्नै निधारलाई पटकपटक आफ्नै हातले हिर्काइरहेको, जवान अवस्थामा संगै खेलेका साथीसङ्गीको बियोग खेपेर बाँचिरहेका छौं भनेको । यो त लाग्छ मलाई मानवीय व्यबहार नै हो । मान्छे धेरै लामो घुलमिलता पछि प्राय झडपमै परिणत भएका मैले मेरै आँखा अगाडि देखेको छु, सुरु सुरुमा जस्तो माया, सम्मान दिइन्छ त्यो बिस्तारै घट्दै गएको देखेको छु ।
कति गजबको छ है यो मान्छेको चोला पनि, जन्मिदा जुन उमंग, आफ्ना घरपरिवारहरुको खुशियाली, सबैतिरबाट आहा ! आहा ! कति आनन्दको त्यो अवस्था, त्यो क्षण, त्यो माया, ममता, साथ, स्वतन्त्रता, अनि कयौं आफन्तको माँझमा त्यो घुलमिलताले ल्याएका खुशीले लाग्छ जीवनमा आफु जस्तो भाग्यमानी यो दुनियामा कोही छैन, भएपनि त्यो दुनियाँ आफुलाई चाहिदंैन । तर समय न हो, सधै सबै संगै अनि भनेजस्तै अवस्था एकनास कहाँ पो रहन सक्छ र ! जीवन त यात्रा हो यात्रामा त धेरै यात्रीहरु हुन्छन कतिपय संग धेरै नजिकता बढ्नसक्ला त कतिसंग बोलचाल नै नहोला तर यात्रा त रोकिदैन अघि बढिरहन्छ । यही यात्रामा भेट्ने छुट्ने अनि कहिलै नभेटिने पनि हुँदो रहेछ । म सोच्ने गर्छु मैले मेरो यात्रा मेरै पैदलको सहारामा गरु, जब मेरा पैतालाहरुले एक पाइला अघि सार्न खोज्छन तबमात्र म यात्रामा जान सकु, मलाई अरुको पिठ्युमा बुई चढेर यात्रा गर्न मन छैन बरु म त्यही विश्राम गर्न तयार रहने छु । मलाई नसकी नसकी अघि बढ्न मन छैन ।
मलाई लाग्दैन कि जहाँसम्म मान्छेले आफ्नो मृत्यु आफै स्वीकार्न गाह्रो मात्र हैन धेरै नै गाह्रो अनि कठिन छ । तर जब मान्छे सबैबाट टाढिएर एक्लो हुन्छ अझ भनौ उ अर्काको भरमा बाच्नुपर्ने अवस्थामा पुग्छ तब उसमा मैले अब धेरै बाँच्न छैन, म यो धर्तीको बोझ हो जस्तै भान आफ्नो मानसपटलमा ल्याइराख्छ । अझ भनौ उसलाई यो बसाई, देखावटी मुस्कान, सबै नक्कली तौरतरिकामा आफ्नो सक्लली जीवन बिताउन मञ्जुर हुदैन । किन मलाई नि कता कता यस्तै कुराहरुले प्रश्न गरिराख्छन जब म एक कविको श्लोक सम्झन्छु ‘छिट्टै मरि गएस, बरु हिमालमा एक चुली थपेस ।’ तब भने केही उत्तर पाएजस्तो, गर्न सकु केही बरु छिट्टै, हुनु छैन बुढेसकालमा एक्लो अनि बिछट्टै भन्ने भान कताकता यो मस्तिष्कमा खेलिदिन्छ । लाग्छ यो संसार त्यति राम्रो नि छैन जति मान्छेहरु तारिफ गर्ने गर्छन । यहाँ केवल तारिफ मान्छेको भौतिक शरीर नभए पश्चता गर्ने गरिन्छ । जो स्वयम जसले पाउनुपर्ने थियो त्यो धेरै समय बितेपछि पाउने गर्छ । सङै रहुन्जेल त धेरैले कसैको महत्व बुझ्न सक्दैनन, एकआपसमा तछाडमछाड गर्दै एकले अर्काको अनि अर्कोले फेरि एक अर्कोको खुट्टा तान्दै बस्छन । अर्कोतर्फ युवा भनिएका, आफुलाई नेता अनि समाजलाई बदल्न भनि देखिएका कोही कोही आफ्ना वृद्ध बाआमालाई वृद्धाश्रम तिर धकेलिरहेको देख्ता लाग्छ समग्रमा त्यसले मेरै भविष्य देखाइरहेछ । त्यसैले मलाई कता कता डर लाग्छ कि म धेरै त बाँच्नु पर्दैन ? मैले नि उनिहरु झै हेपिनु त पर्दैन ? यसो भनिरहदा म उहाँ जस्ता उमेरका मान्छेको बिरोधी भने कदापी हैन तर मलाई भने त्यो जीवन बाच्नु नै छैन ।
यस्तो लाग्छ म केवल बाँचु आफ्नो काम आफै गरुन्जेल, आफ्ना सारा परिपुर्ती आँफै पूरा गर्ने क्षमता रहुन्जेल, आफ्नो शरीरका प्रत्येक अङ्गले स्वतस्फूर्त काम गरुन्जेल । मलाई त्यो ओइलिएर जाने फूल बन्न मन छैन, छ त केवल त्यही ढकमक्क रातो अनि आकर्षक फूल मात्रै बन्न । मलाई त्यो कालो बादल झै अँध्यारो बन्न छैन म त केवल चाहन्छु निलो आकासमै सेतो सेतो कपासको भुवाजसरी तैरिरहन, म त्यो रुख जस्तै हरियो भइरहन चाहन्छु ! यदि कतै सुक्न लागेपनि मेरो पुरै रुख सुकेर जाओस तर म मेरा हाँगाहरु सुकेको देख्न सक्दिन, सुकेका हाँगालाई कसैले दाउरा बनाउन काटेको सहन सक्दैन । यो त सुक्नै पो लाग्यो भनेर घृणा गरेको म देख्न सक्दिन । कसैको अगाडि हात फैलाएर, अशक्त अनि निर्भरतायुक्त जीवन बिताउन मलाई मन्जुर छैन । बरु म जीवनमा गर्नुपर्ने सबै कुरा गर्छु, जति गर्छु बरु यही छोटो उमेरमै गर्छु । यतिका लामो जीवन जिएर म आफुलाई बोझ भएको आफै नि हेर्न सक्दिन, त्यसैले मलाई १०० औं बर्ष हैन १०० औं मेरा सपना पूरा गरुन्जेल बाँच्न मन छ । मान्छेहरु यो गर्यो, त्यो गर्याे, यति पैसा कमायो, यो देश गयो, उ देश गयो, यति पढ्यो, उति पढ्यो, यो पढ्यो भन्दै प्रगतिका कुराहरु गर्छन तर यसमा मलाई लाग्दैन त्यो हाम्रो प्रगति हो, मलाई लाग्छ प्रगति त आफ्नो मनको कुरामा सफलता पाउनु हो । आफनै आडमा आफ्नो जीवन चलाउनु हो प्रगति । आफुसंगै अरुलाई खुशी प्रदान गर्नु हो प्रगति । बाहिरी देखावटी हुनु हैन भित्रि आत्मदेखी नै उम्म यो सबै ठिक छ है भन्ने आभास आउनु हो है प्रगति । मलाई धेरै यी या उ चाहिदैन यिनै कुराहरु पाउन सकु अनि आनन्दले छोटो समयलाई अंगाल्न सकु । यति भए मलाई अरु चाहिदैन अझ भनौ मलाई धेरै बाँच्नु छैन । बस यति भए पुग्छ ।