रुकुम पूर्वमा राति ९ बजे सम्म मात्र देउसी, भैलो खेल्न पाइने भएको छ । रातको ९ बजेपछि देउसी, भैलो नखेल्न भन्दै जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले निर्देशन जारी गरेको छ । आइतबार एक सूचना जारी गर्दै प्रशासनले रातको ९ बजेसम्म मात्र देउसी, भैलो खेल्न पाइने भनेको छ ।
प्रशासनले जारी गरेको सूचनामा बिजुली एवम् मैनबत्ती, पाला दियो जस्ता सामग्रीको प्रयोग गर्दा सावधानी पूर्वक गर्नु हुन जिल्ला बासीलाई अनुरोध गरिएको छ । पटका आतिसबाजी झिरझेर भुइचम्पा जस्ता प्रज्वलनशील विस्फोटकजन्य पदार्थको प्रयोग नगर्न तथा यस्ता पदार्थ निकासी ओसारपसार र विक्री वितरण नगर्न पनि अनुरोध गरेको छ ।
मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानहरुमा होहल्ला र झैझगडा नगर्न, जुवातास, लंगुरबुर्जा जस्ता खेल खेल्ने खेलाउने नगर्न पनि सबैलाई सचेत बनाएको छ । यस्तै सूचनामा भीडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति एवम् अशोभनीय क्रियाकलापमा नगर्न नगराउन अवरोध गरिएको छ । यस्तै देउसीभैलो कार्यक्रम सार्वजनिक यातायात र जनजीवनलाई असर नपर्ने गरी मर्यादित एवम् अनुशासित रुपमा सञ्चालन गर्न भनिएको छ ।
निर्देशन विपरित गरेको पाइएमा कानून बमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य बताउनुभयो । तिहारलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सुरक्षित र मर्यादित तरिकाले मनाउन उहाँले सबै जिल्लावासीलाई अनुरोध गर्नुभएको छ ।