अर्थमन्त्री जनार्दन शर्मा गृह जिल्ला रुकुम पश्चिम आइपुग्नुभएको छ । मन्त्री शर्मा तिहार मनाउन गृह जिल्ला आइपुग्नुभएको हो । आज उहाँ चौरहाजरी नगरपालिकामा आयोजित देउसी, भैलो कार्यक्रममा समेत सहभागि हुनुभएको छ । जन साँस्कृतिक महासंघ चौरजहारी नगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा देउसी, भैलो प्रदर्शन कार्यक्रममा मन्त्री शर्मा सहभागि हुनुभएको हो ।
उहाँले कार्यक्रमको उद्घाटन गर्दै मयुर नाच तथा देउसी, भैलो खेलेर रमाइलो गर्नुभयो । तालमा ताल मिलाएर उहाँ छमछमी मयुर नाच नाच्नुभयो । माओवादी केन्द्रका उप महासचिव समेत रहनुभएका मन्त्री शर्मा सार्वजनिक कार्यक्रममा नाच्न र बजाउनमा माहिर हुनुहुन्छ । ठाउँ अनुसारका नाच र बाजा बजाउन उहाँ अग्रसर भइहाल्नुहुन्छ । मेला महोत्सव मात्र नभई पार्टीका कार्यक्रममा समेत उहाँ नाच्ने, गाउँने तथा बजाउने कार्यमा सरिक हुनुहुन्छ ।
यसैविच मन्त्री शर्माले जिल्लामा चुनावी प्रचार सुरु गर्नुभएको छैन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दुवै जना प्रदेश सभा सदस्यले पहिलो चरणको घरदैलो गर्दापनि प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले औपचारिक रुपमा चुनावी प्रचार सुरु गर्नुभएको छ । भर्खर जिल्ला आउनुभएको शर्माले अहिले आफु पुगेको ठाउँमा सामान्य जनभेटघाट र छलफल गरेपनि तिहारपछि औपचारिक चुनावी कार्यक्रम सुरु हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।
कार्तिक १३ गते गठबन्धनको बैठक राखिएको र उक्त बैठकले कसरी चुनावी प्रचार गर्ने भनेर निर्णय गर्ने गठबन्धनका तर्फबाट रुकुम पश्चिम प्रदेश सभा क का उम्मेदवार महेन्द्र केसीले बताउनुभयो । अहिले उम्मेदवारले आफ्नो तरिकाले घरदैलो र जनभेटघाट गरेपनि औपचारिक रुपमा गठबन्धनले चुनावी प्रचार सुरु गर्न सकेको छैन् ।