बाम-लाेकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्माले बुधबार रुकुम पश्चिमको मुसीसकोट नगरपालिकाका विभिन्न ठाउँमा घरदैलो गर्नुभएको छ । मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै शर्माले बुधबार मुसीकोट नगरपालिकाका ३ वटा वडामा घरदैलो र जनभेटघाट गर्नुभएको हो ।
वडा नम्बर ५ को घोयलपानी देखि सेरिगाउँसम्म घरदैलो र जनभेटघाट गर्नुभएका शर्माले वडा नम्बर ९ र १० मा पनि घरदैलो र जनभेटघाट गर्नुभएको छ । वडा नम्बर ९ का चौखावाङ, होलतारा र हिलमा पुग्नुभएका शर्मा वडा नम्बर १० का खर्सुपानी र चुनमा पनि पुग्नुभएको छ ।
उहाँले घरदैलो मार्फत जनतासंग भेटघाट गर्नुका साथै स्थानीय देउसी, भैलो टिममा सामेल भएर देउसी, भैलो समेत खेल्नुभएको थियो । जनभेटघाट र घरदैलोका क्रममा उहाँले जिल्लाको थप विकासका लागि गठबन्धनलाई जिताउन अनुरोध गर्नुभएको थियो । जिल्लामा विकासको जग बसालेको र त्यसलाई पूर्णता दिनका लागि विजयी गराउन उहाँको आग्रह थियो ।
गाउँ गाउँमा पुग्ने सडकहरु खनिएको र अव तिनलाई बाह्रैमास चल्ने बनाउने, विद्यालय सुधार गरी गुणस्तरीय शिक्षा दिने, गाउँमा उत्पादन भएका बस्तु बजारसम्म पुर्याउने, गाउँमै रोजगारी सृजना गर्ने, आत्मनिर्भर बनाउने लगायतका थुप्रै कामहरु बाँकी रहेको भन्दै उहाँले अव यसतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।
जिल्लाको समग्र विकासका लागि गठबन्धनले आफुलाई साझा उम्मेदवार बनाएको जानकारी गराउँदै उम्मेदवार शर्माले सबै मतदाताले भोट हाली जिताउनुपर्ने बताउनुभयो । उहाँ संगै प्रदेश सभा क का उम्मेदवार महेन्द्र केसी पनि रहनुभएको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गोपाल शर्मा, केन्द्रीय सदस्य बसन्तकुमार शर्मा लगायतका नेता कार्यकर्ताको टोली पनि खटिएको छ ।