बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । गठबन्धनका तर्फबाट आगामी मंसिर ४ को निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा तथा प्रदेश सभा ‘क’ का उम्मेदवार महेन्द्र केसी र ‘ख’ का उम्मेदवार राजकुमार शर्माको प्रतिबद्धता पत्र सार्वजनिक भएको हो ।
उम्मेदवारको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिबद्धता पत्र सावर्जनिक गर्नुभयो । २०६४ पछि जिल्लामा भएको समग्र विकास र अवको ५ वर्षमा गर्ने कामहरु सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै शर्माले जनप्रतिनिधि वा संवैधानिक भूमिकामा रहँदा विगतमा जस्तै अव पनि रुकुमको हितमा काम गर्ने संकल्प गर्नुभयो ।
‘पहिलो कार्यकाल २०६४ मा शान्ति प्रक्रिया स्थापित गर्ने, संविधानमा जनअधिकार उल्लेख गर्न सडक र सदन संघर्षका साथ विकासका आफ्नै मौलिक तय गर्न वित्यो, दोस्रो कार्यकाल २०७० मा सडक, विद्युत लगायत पूर्वाधार विकास र संविधान निर्माणमा वित्यो, तेस्रो कार्यकाल २०७४ समग्र पूर्वाधार विकास, उत्पादन र सम्भावनाको आधार तयार गर्न वित्यो, प्रतिनिधि सभा सदस्यका उम्मेदवार शर्माले भन्नुभयो ।’
अव आसन्न निर्वाचन मार्फत प्राप्त हुने चौथो कार्यकाल गठबन्धन दलको संयुक्त पहलमा गुणात्मक पूर्वाधार, रोजगारी सृजना र गरिबी अन्त्यका लागि कृषिको आधुनिकिकरण एवं औद्योगिकरण, नयाँ प्रविधियूक्त शैक्षिक विकास सहित सामाजिक न्याय स्थापनामा आर्थिक उत्पादन एवं सामाजिक, सांस्कृतिक रुपान्तरण अभियान मार्फत सुशासन सहित जनताको जीवनमा परिवर्तनको अवधि हुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्लामा मेडिकल कलेज स्थापना गर्ने योजना अर्थमन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्यका उम्मेदवार शर्माले सुनाउनुभयो । जिल्लामा रहेका पालिका अस्पताल र अन्य अस्पतालको सञ्जालिकरण गरेर जिल्लामै ठूलठुला रोगको उपचार र जनशक्ति उत्पादनका लागि मेडिकल कलेज स्थापना गरिने उहाँले बताउनुभयो । अपुरा पालिका अस्पताललाई पूर्णता दिने र चौरजहारी अस्पताल तथा जिल्ला अस्पताललाई स्तरोन्नति गरि १ सय बेडको बनाउने उहाँले बताउनुभयो ।
१३३ केभि क्षमताको विद्युत सव स्टेशन निर्माण गरेको र अव ४ सय केभि क्षमताको बनाउने, सिसा खानी उत्खनन् गर्ने, जिल्ला जोड्ने र जिल्ला भित्रका प्रमुख सडकहरु कालोपत्रे गर्ने, आगामी वर्षभित्र ९ वटा मोटरेवल पुल निर्माण गर्ने, एक घर एक धारा जिल्लाका सबै घरमा लागु गर्ने, ३ मेगावाटको स्यार्पू जलविद्युतको काम सरकारी तहबाट भइरहेको र थप १५ मेगावाटको सम्भाव्यता अध्यन गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
भिडिओमा प्रतिबद्धता पत्र:
साथै उहाँले २०६४ पछि आफुहरुले जिल्लामा १ हजार ६ सय ४५ किलोमिटर सडक खनेको, एक घर एक धाराको अवधारणा अनुसार ४ सय ४६ वटा खानेपानी आयोजना निर्माण भएको, २ सय ३६ वटा सिंचाई आयोजना बनेको, ९५ वटा उद्योग स्थापना भएको, २ सय ५१ वटा पक्की विद्यालय भवन, ११ वटा सडक पुल, २१ वटा झोलुंगे पुल, १० हजार २३ ले रोजगारी पाएको, १ हजार ९ सय ९३ वटा खरका छानो फेरिएको, जनता आवास कार्यक्रमबाट १ सय ९४ वटा घर बनेको, प्राविधिक शिक्षालय स्थापना गरेको बताउनुभयो ।
जिल्लामा विकासका सबै आयामको जग बसालिएको र अव त्यसलाई पुरा गर्न जिल्लाका सबै दलको साथ र सहयोग लिएर काम गर्ने बताउनुभयो । त्यसैका लागि पनि गठबन्धन भएको र आफुहरुलाई गठबन्धनले साझा उम्मेदवार बनाएको उहाँले स्पस्ट पार्नुभयो । यो माओवादी केन्द्र र उम्मेदवारका तर्फबाट प्रतिबद्धता भएको बताउँदै उहाँले गठबन्धनका तर्फबाट साझा प्रतिवद्धता केही दिनमा सार्वजनिक गर्ने उम्मेदवार शर्माले जानकारी गराउनुभयो ।
एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहको रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट सबै क्षेत्रमा माओवादी केन्द्रले भाग पाएको छ ।
प्रतिबद्धता पत्रको पूर्ण पाठ हेर्नुहोसः