अर्थमन्त्री जनार्दन शर्माले २०६४ पछि रुकुम पश्चिममा साढे १६ सय किलोमिटर सडकको ट्रयाक खोलिएको बताउनुभएको छ । बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुम पश्चिम प्रतिनिधि सभाका उम्मेदवार शर्माले २०६४ पछि जिल्लाको नेतृत्व माओवादीले गरेको र जिल्लामा आधारभूत विकासको कार्यभार पुरा गरेको बताउनुभयो ।
आगामी निर्वाचनका लागि आज गठबन्धनका उम्मेदवारको प्रतिवद्धता मुसिकोटमा सार्वजनिक गर्दै उहाँले २०६४ पछि जिल्लामा १६ सय ४५ किलोमिटर सडकको ट्रयाक खोलिएको जानकारी दिनुभएको हो । यसको नेतृत्व माओवादी र पात्रका हिशावले आफुहरुले गरेको बताउनुभयो । अव उक्त सडकको स्तरोन्नतिको पालो रहेको उहाँको भनाई छ । हामीले अव जिल्ला जोड्ने तथा जिल्ला भित्रका मुख्य सडकलाई कालोपत्रे गर्ने भनेका छौं, उहाँले भन्नुभयो ।
साथै यो अवधिमा एक घर एक धाराको अवधारणा अनुसार ४ सय ४६ वटा खानेपानी आयोजना निर्माण भएको, २ सय ३६ वटा सिंचाई आयोजना बनेको, ९५ वटा उद्योग स्थापना भएको, २ सय ५१ वटा पक्की विद्यालय भवन, ११ वटा सडक पुल, २१ वटा झोलुंगे पुल, १० हजार २३ ले रोजगारी पाएको, १ हजार ९ सय ९३ वटा खरका छानो फेरिएको, जनता आवास कार्यक्रमबाट १ सय ९४ वटा घर बनेको, प्राविधिक शिक्षालय स्थापना गरेको उम्मेदवार शर्माले बताउनुभयो ।