रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगाको बराहटाकुरा देखि सल्ले जोड्ने झोलुंगे पुलमा लाइट जडान गरिएको छ । मुसिकोट नगरपालिकाले रातको समयमा पुललाई आकर्षक बनाउन भन्दै पुलमा लाइट जडान गरेको हो । करिब डेड लाखको लगानीमा पुलमा लाइट जडान गरिएको नगरपालिकाले जनाएको छ ।
पुलको दुई छेउमा लाइट जडान गरिएको छ । पुलमा लाइट जडान गरिएपछि रातको समयमा मान्छेको भिड लाग्न थालेको छ । हेर्न, फोटो खिच्न तथा टिकटक बनाउन रातको समयमा भिड लाग्ने गरेको छ । यसअघि दिनमा पुलमा ठुलो भिड हुन्थ्यो भने लाइट जडान गरिएपछि रातमा पनि भिड लाग्ने गरेको छ ।
पुलमा लाइट जडान गरिएपछि रातको समयमा पुल आकर्षक देखिएपनि सुरक्षा चुनौति भने बढेको छ । अवेर रातिसम्म ठूलो भिडभाड हुने भएकोले कुनै घटना हुनसक्ने जोखिम बढेको छ । मुसिकोट नगरपालिकाले भने पुलको सुरक्षाको लागि सिसी क्यामेरा जडान गर्ने जनाएको छ ।
कार्यपालिकाले निर्णय गरिसकेको र छिट्टै सिसी क्यामेरा जडान हुने नगरपालिकाले जनाएको छ । त्यस्तै केहीले भने पुलमा लाइट जडान गरेर फजुल खर्च गरेको भन्दै आलोचना समेत गरेका छन् ।