Kakhara सबैको खबर सम्पूर्ण खबर
ओलीद्धारा रुकुम पश्चिम प्रतिनिधिसभा निर्वाचन परिचालन समितिको संयोजक हुन अस्विकार 

नेविसंघका नेता लालबहादुर ओलीले रुकुम पश्चिम प्रतिनिधि सभाको निर्वाचन परिचालन समिति संयोजकको जिम्मेवारी अस्विकार गर्नुभएको छ । नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले ओलीलाई रुकुम पश्चिम प्रतिनिधि सभा निर्वाचन परिचालन समितिको संयोजक तोकेको थियो । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीले जिम्मेवारी दिने केन्द्रीय समिति र अध्यक्षलाई धन्यवाद दिदै आफुले उक्त जिम्मेवारी वहन गर्न नसक्ने बताउनुभएको छ । नेविसंघले देशभरका १ सय ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा नेपाल विद्यार्थी संघको प्रभावकारी परिचालनका लागि संयोजक तोकेको थियो । 

जसअनुसार नेविसंघले रुकुम पश्चिममा प्रतिनिधि सभा तर्फको निर्वाचन परिचालन समिति संयोजकमा ओली र प्रदेश क मा वसन्तकुमार चन्द तथा ख मा कर्णबहादुर ओलीलाई संयोजक तोकेको थियो । 

ओलीले माओवादीलाई जिताउन आफु प्रचारमा खटिन नसक्ने बताउनुभएको छ । जिल्लाबाट कांग्रेसका कुनैपनि उम्मेदवार नरहेकोले आम कांग्रेसको मनोभावनामा असर पुग्ने गरी केन्द्रले तोकेको जिम्मेवारी आफुले पुरा गर्न नसक्ने उहाँले बताउनुभएको छ । साथै उहाँले पार्टी केन्द्रले रुकुम पश्चिमका कांग्रेसको मनोभावनामा चोट पुर्याएको बताउनुभएको छ ।

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन अनुसार सबै निर्वाचन क्षेत्रमा माओवादीले भाग पाएको छ । यसमा कांग्रेस रुकुम पश्चिममा असन्तुष्टि देखिएको छ । जसका कारण विभिन्न तहमा रहेका नेताहरुले सार्वजनिक रुपममै गठबन्धनका विरुद्ध अभिव्यक्ति दिने र सहयोग नगर्ने भनाई राखिरहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update