नेपाली कांग्रेस रुकुम पश्चिमको दोस्रो ठूलो दल हो । २०६४ देखिका हरेक निर्वाचनमा कांग्रेस माओवादीको प्रमुख प्रतिस्पर्धी दल हो । पहिलो र दोस्रो संविधान सभा, २०७४ को स्थानीय निर्वाचन तथा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन होस वा २०७९ को स्थानीय तहको निर्वाचनमा माओवादी र कांग्रेसकै मुख्य प्रतिस्पर्धा भएको छ । तर आगामी मंसिर ४ का लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भने अवस्था फेरिएको छ । मुख्य प्रतिस्पर्धी दल कांग्रेस र माओवादी यसपटक प्रतिस्पर्धामा छैनन् । बरु कांग्रेसले माओवादीलाई सघाउदै छ । बाम–लोकतान्त्रिक गठबन्धन अनुसार जिल्लामा कांग्रेसका उम्मेदवार छैनन् । त्यसकारण कांग्रेस कुनैपनि निर्वाचनमा पहिलो पटक उम्मेदवार बिहिन बनेको छ । गठबन्धन अनुसार रुकुम पश्चिमका सबै निर्वाचन क्षेत्रमा माओवादीले भाग पाएको छ । सबै निर्वाचनमा मुख्य प्रतिपर्धीका रुपमा प्रतिस्पर्धा गरेको कांग्रेस पहिलो पटक माओवादीलाई सघाउदै छ ।
पार्टी गठबन्धनमा सामेल भएपनि कांग्रेसको मत के गठबन्धनलाई आउला त ? भन्ने प्रश्न भने उब्जिएको छ । गठबन्धनलाई सघाउन भन्दै कांग्रेसले उम्मेदवारी फिर्ता लिए देखि नै कांग्रेस रुकुम पश्चिममा ठूलो असन्तुष्टि देखिएको छ । असन्तुष्टि सार्वजनिक रुपमा देखा परेका छन् । यसलाई थामथुम पार्न कांग्रेसको जिल्ला नेतृत्व लागि परेको छ । माओवादीलाई कुनैपनि हालतमा भोट नदिने आवाज कांग्रेस भित्र चर्को देखिन्छ । माओवादीबाट चेपुवामा परेको र द्धन्दकालमा ठूलो संख्यामा नेता कार्यकर्ता गुमाएको भन्दै कांग्रेस भित्र एन्टी माओवादी सेन्टिमेन्ट चर्को छ । यसले आगामी मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष असर पार्ने देखिन्छ । गठबन्धनबाट असन्तुष्टि हुँदै कांग्रेसका युवा नेता तारक केसीले प्रतिनिधि सभामा गठबन्धनका जनार्दन शर्माका विरुद्ध बागी उम्मेदवारी दिनुभएको छ ।
कांग्रेसका जिम्मेवार नेताहरुले नै प्रतिनिधि सभामा बागी उम्मेदवार तारक केसी र प्रदेशमा एमालेलाई सघाउने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । कांग्रेस नेता तथा गत २०७४ सालको निर्वाचनमा रुकुम पश्चिम प्रदेश सभा ‘ख’ बाट निर्वाचन लडिसक्नुभएका खड्कबहादुर डाँगीले केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा आफुले स्वतन्त्र उम्मेदवार तारक केसीलाई समर्थन गरेको र प्रदेशमा एमालेका उम्मेदवारलाई सघाउने विषयमा सकारात्मक रहेको धारणा व्यक्त गर्नुभएको थियो । नेविसंघका नेता लालबहादुर ओलीले नेविसंघको केन्द्रीय समितिले दिएको रुकुम पश्चिम प्रतिनिधि सभा निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी आफुलाई स्वीकार नभएको भन्दै फेसबुक मार्फत अस्वीकार गर्नुभएको छ । उहाँले कांग्रेसका उम्मेदवार नरहेको र माओवादीलाई जिताउन आफु निर्वाचनमा खटिन नसक्ने बताउनुभको छ । कार्यकर्ता तहमा असन्तुष्टि झन चर्को छ ।
मन माँझ्ने काम भइरहेको छः कार्यबहाक सभापति खत्री
यि घटनालाई हेर्दा कांग्रेसको सबै मत गठबन्धनलाई नआउने आशंका गर्ने प्रसस्त ठाउँहरु छन् । तर कांग्रेस रुकुम पश्चिमको नेतृत्व भने असन्तुष्ट नेता र कार्यकर्तालाई फकाउने रणनीतिमा छ । यो कुनै पात्र विशेषको कुरा नभई सिंगो पार्टीले गरेको निर्णय भएकोले पार्टीको निर्णय सबै नेता तथा कार्यकर्ताले पालना गर्नुपर्ने नेपाली कांग्रेस रुकुम पश्चिमका कार्यबहाक सभापति हर्कसिंह खत्रीले बताउनुभयो । रानीनितिमा कोही पनि स्थायी मित्र र शत्रु नहुने भएकोले माओवादी र कांग्रेसका विचमा रहेको तिक्तता कम गर्ने अवसरका रुपमा निर्वाचनलाई लिनुपर्ने उहाँले बताउनुभयो । हिजो देखिकै घटनाले कांग्रेस भित्र एन्टी माओवादी सेन्टिमेन्ट भने रहेको स्वीकार गर्दै उहाँले यसलाई कम गर्न दुवै तर्फबाट प्रयास हुनुपर्ने बताउनुभयो । अहिले पार्टीको निर्णय मान्नुको विकल्प नभएकोले यसबारेमा नेता कार्यकर्तालाई सम्झाउने, बुझाउने, फकाउने जस्ता कामहरु भइरहेको उहाँको भनाई छ ।
कांग्रेसको मत आउनेमा विस्वस्त छौंः माओवादी
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा गठबन्धनको निर्णय अनुसार सबै क्षेत्रमा माओवादीले भाग पाएको छ । यो जिल्लाको कुरा नभई केन्द्रीय गठबन्धनको कुरा भएकोले गठबन्धनमा आवद्ध दलले गठबन्धनको निर्णय मान्नुको विकल्प नभएको माओवादी केन्द्रको भनाई छ । कांग्रेसले गठबन्धनको निर्णय मान्नेमा आफुहरु पूर्ण रुपमा विस्वस्त रहेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोका सचिनले बताउनुहुन्छ । गठबन्धनको निर्णय भएकोले प्रतिनिधि सभा र प्रदेश सभा दुवै तर्फको प्रत्यक्षमा गठबन्धनका साझा उम्मेदवारलाई सबै कांग्रेसको मत आउनेमा विस्वस्त रहेको उहाँको भनाई छ । त्यसै अनुसार गठबन्धन भित्र छलफल चलिरहेको उहाँले बताउनुभयो ।
कांग्रेस मात्र होइन माओवादीको पनि मत आउँछः एमाले
जिल्लामा मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनको मुख्य प्रतिस्पर्धी एमाले हो । गठबन्धनको तुलनामा एमालेको मत निकै कम छ । तर एमालेले माओवादी र कांग्रेस दुवैको मत आफ्ना उम्मेदवारलाई आउने बताइरहेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नन्दराम देवकोटाले पुरानो नेतृत्वको विकल्प जनताले खोजिरहेकोले सबै पार्टीको मत आफुहरुलाई आउने दाबी गर्नुभयो । ‘हामी जनताको विचमा छौं, हामीले नैतिक रुपमा जितिसकेका छौं, उहाँले भन्नुभयो–माओवादी, कांग्रेस दुवै दलमा धेरै असन्तुष्ट छन्, विकल्पको खोजि भइरहेको छ, हामी विकल्प बन्दै छौं ।’ एमालेका उम्मेदवारले सबै पार्टीको मत पाएर विजयी हुने उहाँ दाबी गर्नुहुन्छ ।
मेरो उम्मेदवारी कसैप्रति लक्षित छैन्ः बागी उम्मेदवार केसी
लामो समय नेपाल विद्यार्थी संघको राजनीति गर्नुभएका तारक केसी गठबन्धनका विरुद्ध प्रतिनिधि सभा निर्वाचनमा बागी उम्मेदवार हुनुहुन्छ । आफ्नो उम्मेदवारी कसैप्रति लक्षित नरहेको उहाँको भनाई छ । दलमा मौलाउदै गएको अराजनीतिक चिन्तन र व्यवहारका विरुद्ध आफ्नो उम्मेदवारी रहेको उहाँ बताउँदै आउनुभएको छ । विकास, सुशासन, शान्तीका पक्षमा आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ । कांग्रेसका मात्र नभई सबै पार्टीका युवा र अन्य मतदाताको मत आफुले पाउनेमा उहाँ आशावादी हुनुहुन्छ । कांग्रेसकै नेताहरु खुलेर उहाँको पक्षमा लागेकोले उहाँले कांग्रेसको मत बढी काट्ने देखिन्छ । उहाँलाई पार्टीले भने ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारवाही गरिसकेको छ ।
कुन दलको अवस्था के ?
०६४ यताका हरेक निर्वाचनको मतपरिणाम विश्लेषण गर्दा यहाँ माओवादी पहिलो देखिन्छ । रुकुम पश्चिममा माओवादीको प्रतिस्पर्धी कांग्रेस हो । गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादीबीच गठबन्धन भए पनि रुकुम पश्चिममा गठबन्धनका दलबीच नै प्रतिस्पर्धा भएको थियो । कांग्रेसले केही ठाउँमा एमालेसँग अघोषित तालमेल गर्दा माओवादीले जनाधार कम रहेको क्षेत्रमा एकीकृत समाजवादीसँग सहकार्य गरेको थियो ।
६ वटा स्थानीय तहमध्येमा मुसिकोट नगरपालिका र बाँफीकोट गाउँपालिका कांग्रेसले जित्दा बाँकी चार पालिका चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका तथा सानीभेरी, त्रिवेणी गाउँपालिकामा माओवादी विजयी भएको थियो । स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा माओवादीसँग ३६ हजार दुई सय ९० मत छ भने कांग्रेसको मत २६ हजार ६ सय १९ मत रहेको देखिन्छ । एमालेले ६ हजार ९१ मत पाउँदा राप्रपाको मत एक सय आठ मत छ । एकीकृत समाजवादीको मत एक सय ३० मात्र छ । यसरी जिल्लामा गठबन्धनको कुल मत ६३ हजार ३९ पुग्दा एमालेको मत ६ हजार ९१ मात्र छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिममा एक लाख चार हजार दुई सय ८० मतदाता कायम भएका छन् ।