रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकामा सडक खन्दा खसेको ढुंगा लागेर एक व्यक्तिको मृत्यु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत वडा नं. ५ मा निर्माण भइरहेको सेतेओढार, गलगले, तल्लाचौर सडक निर्माणको क्रममा ढुंगा खस्दा सोही वडाको खालीटोलका ५७ वर्षिय झुपलाल ओलीको मृत्यु भएको हो । वडा नं. ५ जिवाङको ढारगैरामा सडक खन्ने क्रममा माथिबाट खसेको ढुंगा बाख्रा गोठालो गएका ओलीलाई लागेको थियो । सडक भन्दा करिब १ सय मिटर तल रहेका ओलीको टाउकोमा ढुंगा लागेको र घटनास्थलमै मृत्यु भएको त्रिवेणि ५ का वडाध्यक्ष खडकवहादुर घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटना आज दिउँशो १ बजेतिर भएको हो । मृतकको शव अहिलेसम्म घटना स्थलमै रहेको छ । उक्त बाटो स्थानीयले निर्माण गरिरहेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ४० जनाले काम गरिरहेको बताईएको छ । घटना स्थलमा सिम्रुतु प्रहरी चौकीको टोली पुगेको छ । भने जिल्लाबाट आफु नेतृत्वको प्रहरी टोली घटनास्थल तर्फ गईरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । घटना भएको जानकारी भए लगत्तै सिम्रुतु प्रहरी चौकीको टोलीलाई घटनास्थल तर्फ पठाएको र अहिले आफुहरु घटनास्थल तर्फ गइरहेकाले त्यहाँ पुगेपछि घटनाको विस्तृत विवरण आउने डिएसपि श्रेष्ठले बताउनुभयो ।।