रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा नमूना मतदान भएको छ । मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर नमूना मतदान कार्यक्रम संचालन गरिएको हो । वडा नम्बर ४ मा रहेको गाउँपालिकाको प्रशासनिक भवन परिषरमा नमूना मतदान भएको थियो ।
मंसिर ४ मा जसरी मतदान हुन्छ त्यसैगरी नमूना मतदान भएको मतदान अधिकृत बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीले जानकारी दिनुभयो । एक जना मतदाताले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेशको पनि प्रत्यक्ष र समानुपातिक तर्फ गरी ४ वटा मत पत्रमा मतदान गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार कुल २७ मत खसेकामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ १८ मत सदर हुँदा ९ मत बदर भएको छ भने समानुपातिक तर्फ २६ मत सदर हुँदा १ मत बदर भएको थियो । त्यस्तै प्रदेशको प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ २२ मत सदर र ५ मत बदर तथा समानुपातिक तर्फ २१ मत सदर हुँदा ६ मत बदर भएको छ ।
मतदानमा सर्वसाधारण र केही कर्मचारी सहभागि भएका थिए । मतदाता संख्या बढाउने र बदर मतलाई घटनाउने उद्ेश्यले यसपटक सबै स्थानीय तहमा नमूना मतदानको कार्यक्रम राखिएको निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ । जसअनुसार आज बाँफिकोट गाउँपालिकामा नमूना मतदान भएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो ।
आजै जिल्लाको आठबीसकोट नगरपालिकामा पनि नमूना मतदानको कार्यक्रम रहेको उहाँले बताउनुभयो । भोली जिल्लाका चौरजहारी र सानीभेरी गाउँपालिकामा नमूना मतदान कार्यक्रम संचालन गर्ने निर्वाचन कार्यालयले तयारी गरेको छ ।