Kakhara सबैको खबर सम्पूर्ण खबर
डिग्रे मेला व्यवस्थित रुपमा संचालन गर्न ५ निर्णय 
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ थर्पुमा  परम्परागत रुपमा लाग्दै आएको प्रसिद्ध धार्मिक स्थल डिग्रे मेलालाई ब्यवस्थित रुपमा सन्चालन गर्न नगरपालिका बसेको बैठकले ५ वटा निर्णय गरेको छ । बुधबार नगरपालिका बसेको बैठकले मेलालाई ब्यवस्थित रूपमा सन्चालन गर्न विभिन्न ५ वटा निर्णय गरेको हो । 

मेलालाई व्यवस्थित रुपमा सन्चालन गर्न डिग्रे मेला प्रवेश गर्ने सम्पुर्ण सवारी साधन खलंगाबाट मठ हुँदै प्रवेश गर्न दिने र मेलाबाट निस्किदा भण्डारीकाँडा हुँदै मध्यपहाडी लोकमार्ग भएर निस्किनु पर्ने निर्णय गरिएको छ । यसको जिम्मा मेला व्यवस्थापन समितिलाई दिएको छ ।

मेलालाई  शान्ति सुरक्षा  दिनको लागि मेलामा आवश्यक पर्ने स्वयंसेवक खटाउन प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रहरी कार्यालयमा अनुरोध गर्नुका साथै मेलामा शान्ति सुरक्षा लगायत अन्य आवश्यक आइपर्ने कामका लागि मुसिकोट नगरपालिकाका नगर प्रहरी पनि परिचालन गर्ने निर्णय भएको मुसिकोट नगरपालिका उप प्रमुख विमलकुमार पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेला सन्चालन अवधिभर आकस्मिक रुपमा आइपर्ने सम्पूर्ण स्वास्थ्य सम्बन्धि समस्याको तत्काल प्राथमिक उपचारका लागि एक प्राथमिक उपचार कक्ष सन्चालन गरिनेछ । त्यसको आवश्यक व्यवस्थापन मुसिकोट नगरपालिकाको स्वास्थ्य शाखा र रेडक्रस सोसाइटीले गर्ने निर्णय भएको छ ।

त्यस्तै मन्दिर तथा मेला सन्चालनको समयमा उपलब्ध हुने आय व्ययको उचित व्यवस्थापनको लागि मुसिकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष समिरजङ मल्लको संयोजकत्वमा ९ सदस्यीय समिति निर्माण गरिएको छ ।

पाँचौ निर्णयका रुपमा डिग्रे मेला व्यवस्थापन समितिलाई प्रचलित कानुन बमोजिम बैधानिक संस्था बनाउनको लागि आय व्ययको १० प्रतिशत रकम मुसिकोट नगरपालिकाको आन्तरिक राजस्व खातामा दाखिलाको लागि समितिलाई आवस्यक निर्देशन दिएको उप प्रमुख पुनले बताउनुभयो ।  

हरेक वर्ष कार्तिक शुक्ल एकादशीबाट लाग्ने डिग्रे मेला ५ दिनसम्म लागेर कार्तिक शुक्ल पुर्णिमाका दिन सम्पन्न हुन्छ । यो वर्ष कार्तिक १८ गते देखि २२ गतेसम्म मेला लाग्दै छ । मन्दिरमा दर्शन गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विस्वास रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update