Kakhara सबैको खबर सम्पूर्ण खबर
गठबन्धनका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारका समर्थकले रोके
अवराेध पछि विचमै राेकिएकाे गठबन्धनका उम्मेदवार सहितकाे प्रचार टिम ।

रुकुम पूर्व प्रदेश ‘क’ मा नेकपा माओवादी केन्द्रबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका सुरुल पुनमगर (अजयशक्ति) र सोही क्षेत्रमा नेपाली काग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेद्धार बन्नुभएका दुतकुमार पुन (गुमाने) का समर्थकले सत्ता गठबन्धका उम्मेद्धार र नेताहरुलाई जिल्लाको माथिल्लो क्षेत्र पुथाउत्तरगंगा गाउँपालिका जानबाट रोकेका छन् । 

बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्धार बन्नुभएका माओवादी केन्द्रका पूर्णबहादुर घर्ती सहित नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार केशरमान रोका लगायत माओवादी केन्द्रका नेताद्धय गणेशमान पुन र दलजित सिर्पाली सहितको टोलीलाई अवरोध गरिएको हो । स्वतन्त्रका समर्थकले उक्त टोलीलाई भूमे गाउँपालिका २ काँक्री देखि तकसेरा जाने सडक खण्ड अन्र्तगत काँक्री देखी १ किलोमिटर माथि बिच बाटोमा रोकेको हो । 

गठबन्धनको टिम अहिले फर्किएर खावाङबगरमा पुगेको छ । त्यहाँ दुई पक्षिय छलफल चलिरहेको र समाधान निकाल्ने भइरहेको बताइएको छ । अवरोध गर्ने स्वतन्त्रका समर्थकले आफहरुको विरोध गठबन्धनका प्रदेश सभा क का उम्मेदवार तेजबहादुर ओली प्रति रहेको बताएका छन् । ओलीका विरुद्ध उम्मेद्धारी रहेकाले गठबन्धनको टिमले कार्यक्रम गरेपछि ओलीलाई बल पुग्ने भन्दै आजको लागि अवरोध गरिएको स्वतन्त्र समर्थित टिमले जनाएको छ । 

साथै उक्त टोलीले प्रतिनिधि सभाका उम्मेदवार पूर्णबहादुर घर्तीलाई समर्थन रहेको बताएको छ । भोली देखि भने प्रतिनिधि सभाको प्रचारमा निस्किएको टोलीलाई कुनै अवरोध नहुने बताइएको छ । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुम पूर्व प्रदेश सभा ‘क’को उम्मेदवार बन्नुभएका तेजबहादुर ओलीको टिम अहिले पुथाउत्तरगंगाको मैकोटमा घरदैलोमा छ । ओली सहितको टिमलाई यसअघि पनि अवरोध गरिएको थियो । 

गठबन्धनको टोलिलाई अवरोध भएपनि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update