रुकुम पश्चिमको मुसीकोटमा युनेस्कोले सार्वजनिक सुनुवाई गरेको छ । मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी युनेस्कोका विषयहरुमा आधारित विभिन्न जानकारी गराउनुका साथै सुझावहरु संकलन गरिएको छ । युनेस्को के हो ? यसले कुन कुन क्षेत्रमा कसरी काम गर्छ भन्ने लगायतका बारेमा कार्यक्रममा जानकारी गराईएको थियो । यसका साथै स्थानीय स्तरमा कस्ता कार्यक्रमहरु आवश्यक छन् ? भन्ने लगायतका बारेमा सहभागिहरुबाट सुझाव संकलन गरिएको थियो ।
युनेस्कोको परिचय सहित युनेस्कोले गरिरहेका कामका बारेमा तल्लो तहसम्म जानकारी गराउने र केहि सुझावहरु भए तिनलाई संकलन गर्ने उदेश्यले विभिन्न जिल्लामा सार्वजनिक सुनुवाई भइरहेको र आज रुकुम पश्चिममा उक्त कार्यक्रम संचालन भएको युनेस्कोका प्राविधिक अधिकृत पदम जोशीले जानकारी दिनुभयो ।युनेस्कोले नेपालमा मुख्य गरी ५ वटा क्षेत्रहरु शिक्षा, विज्ञान, संस्कृति, आमसञ्चार र सामाजिक विकासका क्षेत्रमा काम गरिरहेको उहाँले बताउनुभयो । सरकारले लिएको दीगो विकासका लक्षहरु पुरा गर्नका लागि यि ५ वटा क्षेत्रहरुमा युनेस्कोले काम गरिरहेको उहाँको भनाई थियो । यो कार्यक्रम संयुक्त राष्ट्र संघको भएपनि नेपालमा नेपाल सरकारबाटै संचालनमा रहेको उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघको बारेमा पनि जानकारी गराईएको थियो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयका सचिवालय सदस्य युवराज पौडेलले यस बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमका सहभागिहरुले स्थानीय स्तरसम्मै पुग्न सुझाव दिएका थिए । युनेस्कोको कार्य क्षेत्र भित्र पर्ने धेरै सवालहरु स्थानीय स्तरमा समस्याका रुपमा रहेकाले तिनलाई पुरा गर्नका लागि स्थानीय स्तरसम्मै युनेस्को पुग्नुपर्नेमा सहभागिहरुको सुझाव थियो । सहभागिहरुले सुझाव र जिज्ञाशा राखेपछि सचिवालय सदस्य पौडेलले जिल्लाबाट माग भएमा सो अनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुन, मुसीकोट नगरपालिकाका शिक्षा अधिकृत बिनाराम खड्का, मुसीकोट खलंगा बहुमुखी क्याम्पसका प्रमुख मकुन्दप्रसाद शर्मा, उपप्राध्यापक, विद्यालयका प्रअ, शिक्षक, विद्यार्थी, अधिवक्ता, गैरसरकारी संस्था महासंघका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।