Kakhara सबैको खबर सम्पूर्ण खबर
पूर्व मन्त्रीद्वारा स्वास्थ्य भवनकोे लागि जग्गा दान 
पूर्व मन्त्री श्रीपालीले स्वास्थ्य भवन निर्माणको लागि स्थानीयलाई जग्गा हस्तान्तरण गर्नु हुँदै । तस्बिरः कखरा

पूर्व युवा तथा खेलकूद मन्त्री दलजित श्रीपालीले आफ्नो गृह गाउँमा स्वास्थ्य भवन निर्माणका लागि जग्गा दान गर्नु भएको छ । नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहनु भएका पूर्व युवा तथा खेलकूद मन्त्री श्रीपालीले आफ्नो गृह गाउँ भूमे गाउँपालिका–७ गुनाममा स्वास्थ्य भवन निर्माणका लागि जग्गा दान गर्नु भएको हो । 

परिवार भेटघाटका लागि बिहीबार गृह गाउँ गुनाम पुग्नु भएका पूर्व मन्त्री श्रीपालीले स्वास्थ्य भवन निर्माणका लागि आफ्नो नाममा रहेको जग्गा दान गर्नु भएको हो । गाउँका बुद्धिजिवीलाई साक्षी राखेर पूर्व मन्त्री श्रीपालीले दुर्गम क्षेत्रको स्वास्थ्य सेवाका निम्ति आफ्नो नाममा रहेको पाँच सय वर्ग मिटर जग्गा हस्तान्तरण गर्नु भएको छ । “अनौपचारिक रूपमा बिहीबार गाउँका बुद्धिजिवी समक्ष मैले जग्गा दान गरेको छु” कखरासँग कुरा गर्दै भन्नुभयो श्रीपालीले –“औपचारिक रूपमा अबको केही दिनमै जग्गा पास दिने छु ।” स्थानीयले गाउँमै आधारभूत स्वास्थ्य सेवा सहज रूपमा पाउन भन्ने श्रीपालीको भनाइ रहेको छ ।  

गाउँमै स्वास्थ्य इकाइ समेत नहुँदा गुनाम गाउँका स्थानीय ३/४ घण्टाको बाटो हुँदै रोल्पाको थबाङमा स्वास्थ्य उपचार तथा चेकजाँचको लागि जानु पर्ने बाध्यता रहेको छ । पूर्व मन्त्रीले स्वास्थ्य भवनका लागि जग्गा दान गरेकाले अब सरकारसँग भवन निर्माण लागि बजेट माग गर्ने स्थानीय रुपधन कामीले बताउनुभयो । गाउँमै आधारभूत स्वास्थ्य इकाइ स्थापना भएपछि सामान्य औषधि उपचार तथा चेकजाँचको लागि अन्यन्त्र जानु नपर्ने कामीको भनाइ रहेको छ । 

 


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update