नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपालीले अहिले गठबन्धनका विषयमा असन्तुष्टि व्यक्त गर्ने समय नभएको बताउनुभएको छ । मुसीकोटमा गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीले गरेको निर्णय त्यसका नेता तथा कार्यकर्ताहरुले मान्नुको विकल्प नभएको र यो भएन वा त्यो भएन भनेर चित्त दुखाउने तथा गुनासो गर्ने बेला अहिले नभएको बताउनुभएको हो ।
साथै उहाँले पार्टीप्रतिका गुनासा पार्टी भित्रै छलफल हुनुपर्ने बताउनुभएको छ । पार्टी बाहिर बोल्ने कुराले कुनै अर्थ नराख्ने उहाँको भनाई छ । त्यस्तै रुकुममा माओवादीले मात्र पायो कांग्रेस उम्मेदवार विहिन भयो भन्ने नेता कार्यकर्ताको गुनासोप्रति लक्षित गर्दै उहाँले धेरै ठाउँमा माओवादी पनि शुन्य रहेको बताउनुभयो ।
‘गठबन्धनमा भाग मिलाउदै जादा कतै कांग्रेस शुन्य, कतै माओवादी शुन्य, कतै अन्य दल शुन्य भएका छन्, यसमा धेरै असन्तुष्ट हुनुको तुक छैन् उहाँले भन्नुभयो ।’ साथै उहाँले गठबन्धनका विषयमा अलमलिने कुरै नभएको बताउनुभएको छ । ‘अलमलिने कुरै छैन्, गठबन्धनलाई जिताउने हो, उहाँले भन्नुभयो–अरु पार्टी र उम्मेदवारलाई भोट दिने बारे सोच्दै नसोच्नुहोस् ।’
गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उहाँले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।