बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिमले आगामी निर्वाचनको तयारी स्वरुप भएका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार बिहान ९ः३० बजे मुसिकोटमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । गठबन्धनमा आवद्ध दलहरुको पहिलो संयुक्त बैठक बसी निर्णय सार्वजनिक गर्ने भनिएपछि के निर्णय भयो होला भनेर चासोका साथ जिल्लास्थित पत्रकारहरु समयमै पत्रकार सम्मेलन स्थलमा पुगेका थिए । तर निर्धारित समयमा कार्यक्रम सुरु हुन सकेन । गठबन्धनको बैठक लामो भएपछि निर्धारित समयमा पत्रकार सम्मेलन हुन नसकेको हो । ढिलो गरी झण्डै ११ बजेतिर पत्रकार सम्मेलनका लागि पत्रकारलाई गठबन्धनको बैठक हल भित्र बोलाइयो ।
पत्रकार सम्मेलनको सहजिकरण गर्ने र बैठकका निर्णय सुनाउने जिम्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपालीलाई थियो । औपचारिक सम्बोधनपछि उहाँले आफ्ना कुरा राख्दै गठबन्धनको बैठकले गरेका निर्णयहरु सुनाउनुभयो । त्यसपछि उहाँले आफ्ना कुरा सहित गठबन्धनमा रहेका दलहरुको संयुक्त अपिल वाचन गर्न नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपालजि जंग शाहलाई अनुरोध गर्नुभयो । सोही क्रममा नेपालीले शाह गठबन्धनको निर्वाचन परिचालन समितिको संयोजक समेत रहेको जानकारी गराउनुभएको थियो । त्यसपछि शाहले बोल्न सुरु गर्नुभयो । औपचारिक संवोधन पछि उहाँले पहिला मेरा कुरा राखौं कि अपिल वाचन गरौं ? भनेर प्रश्न गर्नुभयो । छेउमै रहनुभएका अर्थमन्त्री तथा गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले पहिला आफ्ना कुरा राख्नुहोस त्यसपछि अपिल वाचन गर्नुहोला भनेर सहजिकरण गर्नुभयो । त्यसपछि शाहले आफ्ना कुरा सुरु गर्नुभयो...
मैले अस्ति हाम्रो र माओवादीका साथीहरु विच पहिलो पटक हाम्रो कुरा कार्तिक ४ गते काठमाडौंमा हुँदा होस अथवा कार्तिक १३ गते मुसिकोट खलंगामा भएको कुरा होस । मैले एउटा नारायण गोपालको गित राखेको थे । ..आँखा छोपी नरोउ भनि भन्नु पर्या छ, मुटु माथि ढुंगा राखि हाँस्नु पर्या छ............त्यो गित अस्तिको थियो मैले आज फेरि अर्को गित सम्झ्या छु ...यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैहिले कहिले, कसैलाई माया गर्ने एउटा भुल गरे मैले......(त्यसपछि हाँसोले हल गुञ्जियो) । कतै तिर यो सांकेतिक होइन है ।
त्यसपछि छेउमै रहेका अर्थमन्त्री जनार्दन शर्मा सहित अन्य नेताहरु जोडले हाँसे र हल थप गुञ्जियो ।
शाहले कतै तिर सांकेतिक छैन् है भनेपनि रुकुम पश्चिममा कांग्रेसले कुनै पनि सिट नपाउँदाको पीडा हो भनेर सजिलै बुझ्न सकिन्थ्यो ।
शाहले यसअघिका आफ्ना सदावहार प्रतिस्पर्धी जनार्दन शर्माको प्रशंसा पनि गर्नुभयो । जनार्दनलाई गठबन्धनको मेरुदण्डको संज्ञा दिँदै जिल्लालाई थप उचाईमा पुर्याउनुहोला भन्दै शुभकामना पनि दिनुभयो । त्यस्तै उहाँले आफु अझै ५ वर्ष जिल्लाका लागि केही गर्ने सोँचमा रहेको बताउनुभयो । ‘अघि गठबन्धनको बैठकमा मलाई तपाई अव अभिभावक हो भनेर भनियो, उहाँले हाँस्दै भन्नुभयो–अभिभावक भनेर मलाई नथन्काउनुहोला, म अझै ५ वर्ष जिल्लाका लागि केही गर्न चाहन्छु ।’ आफ्ना कुरा सक्दै उहाँले अन्तिममा धन्यवाद जयनेपाल, लालसलाम भन्नुभएको थियो ।
शाहले कुरा राखिसकेपछि बोल्नुभएका अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले दाइ शब्दले सम्बोधन गर्दै शाहको प्रशंसा गर्नुभयो । प्रशंसा मात्र होइन गोपालजि जंग शाहको अभिभावकत्वमा अव रुकुम पश्चिममा नयाँ विकासको अध्याय सुरु भएको समेत शर्माले बताउनुभयो । त्यति मात्र होइन गोपालजि जंग शाहले राखेका दुई गितको जवाफमा शर्माले फूलको आँखामा फूलै संसार भन्ने गितको सम्झना दिलाउनुभएको थियो । शर्माले पनि अन्त्यमा जय नेपाल, लाल सलाम भन्दै आफ्ना कुरा सक्नुभएको थियो ।