नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समावादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित बाम–लोकतान्तिक गठबन्धन रुकुम पश्चिमले आजबाट संयुक्त चुनावी सभा सुरु गरेको छ । यसअघि उम्मेदवारहरुले घरदैलो गरेकामा आजबाट संयुक्त चुनावी सभाहरु सुरु भएका हुन् ।
निर्वाचन आचारसंहिता अनुसार बिहिबार देखि चुनावी सभा, कोण सभा जस्ता खुला कार्यक्रम गर्न पाइने भएपछि रुकुम पश्चिममा शुक्रबार देखि चुनावी खुला कार्यक्रमहरु सुरु भएका छन् । आज पहिलो दिन जिल्लाको चौरहजारी नगरपालिका वडा नम्बर १० को चिन्ने बगरमा संयुक्त चुनावी सभा भएको छ ।
सभामा गठबन्धनका प्रत्यक्ष र समानुपातिक उम्मेदवार सहित गठबन्धन दलका नेताहरुको सहभागिता रहेको थियो । यो संगै जिल्लामा पहिलो पटक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस एउटै मञ्चमा अटाएका छन् । जिल्लाका प्रमुख प्रतिस्पर्धी दल कांग्रेस र माओवादीका विचमा राम्रो सम्बन्ध थिएन् । यो गठबन्धनले दुई पार्टी विचको तिक्ततालाई कम गर्ने विश्वास गरिएको छ ।
सभालाई सम्बोधन गर्दै बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिम निर्वाचन परिचालन समितिका संयोजक गोपालजि जंग शाहले हँसिया हथौडामा मतदान गरि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गर्नुभएको छ । राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र नहुने भएकोले जिल्लाको आवश्यकतालाई गठबन्धनले पुरा गर्ने बताउनुभयो ।
त्यस्तै सभालाई सम्बोधन गर्दै गठबन्धनका तर्फबाट रुकुम पश्चिम प्रदेश सभा ‘ख’ का उम्मेदवार राजकुमार शर्माले रुकुम फेरि पनि प्रगमन विरुद्ध, संविधानको रक्षा र समृद्धिको पक्षमा एकतावद्ध भएको बताउनुभएको छ । जिल्लाका सबै दल एकजुट हुनुलाई उहाँले ऐतिहासिक भन्नुभएको छ । उहाँले जिल्लामा गठबन्धनले गरेका निर्णयहरु इमान्दारिताका साथ कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
सभामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली, कांग्रेस नेता तथा पूर्व राज्य मन्त्री गोपाल जि जंग शाह, प्रदेश सभा ख का उम्मेदवार राजकुमार शर्मा, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा, प्रदेश सदस्य विशाल शर्मा, जिल्ला संयोजक गोविन्द रोका, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा, नेपाल समाजवादी पार्टीका अध्यक्ष पर्शाराम खत्री लगायतको उपस्थिति रहेको थियो ।