Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी र मुसीकोटमा नमूना मतदान 
मुसिकाेटमा भएकाे नमूना मतदान ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका र मुसीकोट नगरपालिकामा नमूना मतदान भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर नमूना मतदान कार्यक्रम संचालन गरिएको हो । मुसीकोट नगरपालिकाको वडा नम्बर १ खलंगामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयको परिसरमा नमुना मतदान भएको हो । भने त्रिवेणी गाउँपालिकाकोे वडा नम्बर २ सिम्रुतुमा रहेको त्रिवेणी माविमा नमुना मतदान भएको थियो ।

मंसिर ४ मा जसरी मतदान हुन्छ त्यो सवै प्रकिया पुरा गरेर नमुना मतदान भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमका निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी लिनुभयो । उहाँका अनुसार एक जना मतदाताले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरि ४ वटा मत पत्रमा मतदान गरेका छन् । त्रिवेणीमा कुल ६१ जनाले मतदान गरेका थिए । भने मुसीकोट नगरपालिकामा ७३ जनाले नमुना मतदान गरेका छन् । 

त्रिवेणी गाउँपालिकामा प्रतिनिधि प्रत्यक्ष तर्फ ५७ मत सदर हुदाँ ४ मत बदर भएको छ भने समानुपातिक तर्फ ५९ मत सदर हुँदा २ मत बदर भएको थियो । त्यस्तै प्रदेश सभा प्रत्यक्ष तर्फ ५९ मत सदर हुँदा २ मत बदर भएको छ भने समानुपातिक तर्फ ५८ मत सदर हुँदा ३ मत बदर भएको बताइएको छ ।

मुसीकोट नगरपालिकामा जम्मा ७३ जनाले मतदान गरेकामा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ ५७ मत सदर हुँदा १६ मत बदर भएको छ भने समानुपातिक तर्फ ६१ मत सदर हुँदा १२ मत बदर भएको छ । त्यस्तै प्रदेश सभा प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ ६५ मत सदर हँुदा ८ मत बदर भएको छ भने समानुपातिक तर्फ ६२ मत सदर हुँदा ११ मत बदर भएको छ । मतदानमा विद्यार्थी, कर्मचारी, सर्वसाधारण र सुरक्षाकर्मी सहभागि भएका थिए ।

त्रिवेणी गाउँपालिका भन्दा मुसीकोट नगरपालिकामा मत धेरै बदर भएको पाइएको छ । मतदाता शिक्षा कम भएकाले  मतदाता शिक्षा आवश्यक रहेको जिल्ला निर्वाचन अधिकारी मल्लले बताउनुभयो । बदर मत संख्या घटाउने उदेश्यले सवै स्थानीय तहमा नमुना मतदान कार्यक्रम राखिएको निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएकोे छ । हिजो बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिकामा नमूना मतदान सञ्चालन गरेको निर्वाचन कार्यालयले आज मुसीकोट र त्रिवेणीमा नमूना मतदान कार्यक्रम गरेको हो । भोली सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा नमूना मतदानको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update