Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रसिद्ध डिग्रे मेलाको दोस्रोे दिन आजबाट बलि सहित पुजाआजा 

रुकुम पश्चिमको प्रसिद्ध धार्मिक डिग्रे मेलाको दोस्रो दिन आज पनि बिहानैबाट डिग्रे शाइकुमारी मन्दिरमा भक्तजनको भिड लागेको छ । हरेक वर्षको हरिबोधननी एकादशी देखि कार्तिक पूर्णिमासम्म लाग्ने मेला हिजो देखि सुरु भएको थियो । हिजो पहिलो दिन पुजाआजा मात्र भएको मन्दिरमा आज देखि बोकाको बलि समेत दिन सुरु गरिएको छ । 

एकादशी र पूर्णिमाको दिन बाहेक मेलाको अवधिमा अन्य दिन बलि सहित पुजाआजा गर्ने गरिन्छ । मुसीकोट नगरपालिका ५, थर्पुमा रहेको डिग्रे शाइकुमारी मन्दिर परिसरमा यो वर्ष कार्तिक १८ गतेबाट सुरु भएको मेला कार्तिक २२ गते भव्य रुपमा सम्पन्न हुने डिग्रे मन्दिर मेला व्यवस्थापन समितिले जनाएको छ ।  

यो मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भएपनि हरिबोधनी एकादशी देखि पूर्णिमासम्म विशेष तरिकाले पूजाआजा हुन्छ भने मनोकांक्षा पूरा हुने विश्वास सहित बोकाको बली चढाउने गरिन्छ । यो जिल्ला तथा कर्णाली प्रदेशकै ठूलो धार्मिक मेला हो । 

यस मन्दिरमा रुकुम पश्चिम संगै छिमेकी जिल्ला रुकुम पूर्व, जाजरकोट, सल्यान, रोल्पा, दाङ संगै अन्य जिल्लाका हजारौं भक्तजनहरु पनि मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन । यस मन्दिरमा दर्शन तथा पुजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विस्वास रहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update