Kakhara सबैको खबर सम्पूर्ण खबर
दशैं, तिहार पछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड, कर्मचारी थपेर सेवा प्रवाह हुँदै 
प्रशासनमा सेवाग्राहीकाे भिड ।

आज भोली जिल्ला प्रशाशन कार्यालय रुकुम पश्चिममा सेवाग्राहीको भिड लाग्ने गरेको छ ।  नागरिकता बनाउने, राष्ट्रिय परिचय पत्र बनाउने, राहदानी बनाउने लगायतका प्राशासनिक कामको लागि सेवाग्राहीको प्रशासनमा भिड लाग्ने गरेको हो । बिहानै देखि सेवाग्राही लाईनमा बसेर पालो कुरिरहेको देख्न सकिन्छ । 

विहान १० बजे नै  जिल्ला प्रशासन कार्यालयमा सेवा लिन पुगेपनि साँझ ४ बजेसम्म पनि लाइनमै बस्नुपरेको राहदानी बनाउन आनुभएका सानीभेरी गाउँपालिका ४ का रेशम बिकले बताउनुभयो । नागरिकता बनाउन आनुभएका त्रिवेणी २ की दीपा पुनको समस्या पनि उस्तै छ । विहानै जिल्ला प्रशाशन पुगेपनि आफु जस्तै सेवाग्राहीको भिडका कारण नागरिकता बनाउन समय लागेको उहाँको भनाई छ । 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले दशैं, तिहारपछि सेवा लिनेको संख्या बढेको बताएको छ । दशैं, तिहार अघि सेवा लिनेको संख्या दैनिक एक सयको हाराहारीमा हुने गरेकामा दशैं, तिहारपछि भने दैनिक ३ सय देखि ४ सयसम्म सेवाग्राही आउने गरेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार सेवाग्राहीको भिड बढेपछि प्रशासनले अन्य सरकारी कार्यालयबाट कर्मचारीहरु ल्याएर समेत सेवा दिइरहेको छ । सेवाग्राहीलाई सकेजति सहज र छिटो  सेवा दिने गरि आफु निरन्तर लागिरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । विभिन्न प्रशासनिक कामको लागि ६ वटै स्थानीय तहबाट सेवा लिन ठूलो संख्यामा नागरिकहरु जिल्ला प्रशासन पुग्ने गरेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update