बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिमको दोस्रो चुनावी सभा त्रिवेणी गाउँपालिका वडा नम्बर १० को पेउघामा भएको छ । गठबन्धनको संयुक्त चुनावी सभामा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार तथा गठबन्धन दलका नेताहरुको सहभागिता रहेको थियो ।
सभालाई सम्बोधन गर्दै अर्थमन्त्री तथा गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले विकास जनताको लागि भएको बताउनुभएको छ । विकास नेताका लाग नभई जनताको लागि भएको र जनताको विकासका लागि अव गठबन्धन एकजुट भएर लाग्ने उहाँले बताउनुभयो ।
रोजगारी सृजना, निर्यातमुखी उत्पादन, शिक्षामा प्रविधिको विकास, व्यवशायिक शिक्षा, सामाजिक तथा साँस्कृतिक विकास, सुशासन प्रवद्र्धन, नेतृत्वलाई खबरदारी गर्न सक्ने जनताको क्षमता विकास गर्ने गरी काम हुने उहाँले बताउनुभयो । रुकुमबाट सामाजवादको यात्रा तय गर्ने गरी अवको काम केन्द्रीत हुने उहाँको भनाई छ ।
साथै उहाँले विकासका काम जनताले नै गर्नुपर्ने बताउनुभयो । आफुहरुले बाटो देखाउने र जनताले काम गर्नुपर्ने उहाँको भनाई छ । जिल्लामा सुरुवात भएका विकासलाई पूर्णता दिने पनि उहाँले दोहोर्याउनुभयो । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपालीले कुनै पार्टी र व्यक्तिका लागि गठबन्धन नभएको बताउनुभएको छ ।
राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरेर केन्द्रीय स्तरमा गठबन्धन भएको सोही अनुसार रुकुमको प्रगतिका लागि गठबन्धन भएको उहाँको भनाई छ । उहाँले सबै मतदाताहरुलाई गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । गठबन्धन प्रति कांग्रेस भित्रको असन्तुष्टिलाई मध्यनजर गर्दै उहाँले पार्टीले गरेको निर्णय सबैले पालना गर्नुपर्ने बताउनुभयो ।
पार्टी अनुशासन उल्लंघन गर्ने अधिकार कसैलाई नभएको भन्दै गठबन्धन भन्दा दाया बाँया नगर्न उहाँले सबै पार्टी नेता र कार्यकर्तालाई आग्रह गर्नुभएको छ । त्यस्तै सभालाई सम्बोधन गर्दै कांग्रेस नेता तथा गठबन्धनका निर्वाचन परिचालन समितिका संयोजक गोपालजि जंग शाहले जिल्लाको विकासका लागि सबै दल एकजुट भएको बताउनुभएको छ ।
अव कसैले कसैलाई गाली गरेर जिल्लालाई फाइदा नपुग्ने भएकोले एक जुट हुनुको विकल्प नभएको उहाँको भनाई छ । हिजोका तिता कुराहरुलाई विर्सिएर अगाडी बढ्नुपर्ने उहाँको भनाई छ । समय अनुकुल चल्न सक्नु नै हितकारी हुने भएकाले चित्त दुखाएर नबस्न उहाँले सबै कांग्रेस नेता र कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
यसपटक गठबन्धनलाई जिताएर जिल्लालाई समृद्धिको यात्रामा अघि बढाउन उहाँले अपिल गर्नुभयो । त्यस्तै प्रदेश सभा ख का गठबन्धनका उम्मेदवार राजकुमार शर्माले साझा मुद्धामा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो ।
माओवादी एक्लैले धेरै वर्ष रुकुम पश्चिमको नेतृत्व गरेको र अव सबै दल मिलेर अगाडी बढ्न खोज्नु जिल्लाको सर्वाङगिन हितका लागि अति नै महत्वपूर्ण रहेको बताउनुभयो । आफुहरु साझा उम्मेदवार रहेको र जितेपछि पनि साझा काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । कुनै कुञ्जुस्याई नगरी गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउन उहाँले आग्रह गर्नुभयो ।