Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वः गठबन्धनको चुनावी सभा मैकोट देखि सुरु 

रुकुम पूर्वमा वाम–लोकतान्त्रिक सत्ता गठबन्धनको चुनानी सभा कार्यक्रम पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटबाट सुरु गरिएको छ । शनिबार मैकोटमा गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्णबहादुर घर्ती (आयाम), प्रदेश निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तेजबहादुर ओली (प्रतिक), समानुपातिक उम्मेदवारहरू केशरमान रोका, भीउमान घर्ती मगर, कुसुमदेवी थापा र दिलकुमारी बुढा सहित नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेशमान पुन र पोलिटव्युरो सदस्य दलजित श्रीपाली लगायतका नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सुरु भएको हो । वाम–लोकतान्त्रिक गठबन्धनले शनिबार मैकोट देखि सुरु गरेको कार्यक्रम शनिबार नै ५ नम्बर वडा हुकामको कार्यक्रममा पनि सरिक भएका छन् ।


गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका साझा उम्मेदवार पूर्णबहादुर घर्तीले चुनावमा आउदै गर्दा आफूहरू भित्रै धेरै अन्तर संघर्ष आएको बताउनुभयो । “धेरै आकाङ्क्षी भयौँ तर पार्टीले गरेको निर्णयलाई मानेका छाँै र मान्नु नै पर्ने हुन्छ” घर्तीले भन्नुभयो –“इतिहास कसैको आग्रहमा लेखिने र पूर्वाग्रहमा मेटिदैन ।”  मैकोटको चुनावी सभामा बोल्दै गठबन्धनका प्रदेश निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तेजबहादुर ओलीले भन्नुभयो “हाम्रा धेरै प्रतिवद्धताहरू रहेका छन् । जिल्लाको विकास र समृद्धिको लागि हाम्रो साझा उम्मेदवारी रहेको छ ।” हाम्रो कार्यक्रममा केही स्वतन्त्रका साथीहरूले लोकतन्त्रमा कहि नभएको जात्रा गरेको ओलीले बताउनुभयो । 

विचार राजनीति र जनताबाट टाढा भएकाले गठबन्धनलाई अवरोध गरिरहेको प्रति आपत्ति जनाउनुभएको छ । यति धेरै आचारसंहिता उलङ्घन भइरहदा पनि निर्वाचन आयोग किन मौन बसेको भन्दै ओलीले प्रश्न समेत गर्नुभएको छ । पुथाउत्तरगंगा गाउँपालिकामा भेग र समुदायको सम्बोधन गरेर मात्रै आफूहरूको उम्मेदवार परेको ओलीले धारणा राख्नुभयो । 

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेशमान पुनले देशमा गणतन्त्र संधीयता ल्याइसकेपछि यस व्यवस्थालाई अझै सुदृढीकरण गर्नका लागि अझै केही अभ्यास भइरहेको बताउनुभयो । रुकुम पूर्वलाई नयाँ सुदृढ समृद्धि र समाजवाद उन्मुख जिल्ला बनाउन गठबन्धनका उम्मेदवारलाई विजय गराउनु पर्ने पुनले बताउनुभयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दलजित श्रीपालीले गठबन्धनलाई जिताउनु बाहेक अरु विकल्प नरहेको बताउनुभयो । श्रीपालीले हिजोको १० वर्षे जनयुद्ध र १९ दिने महान जनआन्दोलनका क्रममा आएका उपलब्धिहरूलाई रक्षा गर्नका लागि सबै सर्वहारा आन्दोलनका साक्षीहरूले आज पनि अन्तरसंघर्ष गर्नुपरिरहेको छ । 


 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update