Kakhara सबैको खबर सम्पूर्ण खबर
मत बदर घटाउन नमुना मतदान
पुथाउत्तरगङ्गा गाउँपालिकामा नमुना मतदान गर्दै । तस्बिरः कखरा ।

रुकुमपूर्वमा पनि नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले शनिबार पुथाउत्तरगङ्गा गाउँपालिका–१० तकसेरामा नमुना मतदान गरेको हो । नमुना मतदानमा कुल ४७ मत खसेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार नमुना मतदानमा प्रतिनिधिसभातर्फ प्रत्येक्ष र समानुपातिक, प्रदेशसभातर्फ पनि प्रत्येक्ष र समानुपातिकमा ४७/४७ मत खसेको थियो । जसमा नमुनाको रूपमा प्रतिनिधिसभातर्फ प्रत्येक्षमा खसेको मत गणना गरिएको थियो । जसमा ६ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी ओलीले बताउनुभयो । उहाँकाअनुसार २ वटा औँलाको छाप लगाइएको थियो भने २ वटा मतपत्रमा दुई वटा भन्दा बढी चिन्हमा छाप लगाइएको थियो । २ वटा मतपत्र भने खाली खसाइएको थियो ।

नमुना मतदान पछि उपस्थित नागरिकलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरी मतदाना शिक्षा प्रदान गरिएको ओलीले बताउनुभयो । पुथाउत्तरगङ्गाबाट सुरु गरिएको नमुना मतदान भूमे गाउँपालिकामा सोमबार नमुना मतदान गरिने भएको छ । त्यसपछि सिस्ने गाउँपालिकामा पनि नमुना मतदान गरिने जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वले जनाएको छ । नमुना मतदान कार्यक्रमले मत बदरको दर कम हुने विश्वास लिएको छ । 

 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update