Kakhara सबैको खबर सम्पूर्ण खबर
गठबन्धनका कार्यक्रममा अनिवार्य सहभागी हुन नेता, कार्यकर्तालाई गोपालजिको निर्देशन

नेपाली कांग्रेसका नेता, पूर्व राज्य मन्त्री तथा बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिमका संयोजक गोपालजि जंग शाले गठबन्धनका कार्यक्रममा अनिवार्य सहभागी हुन पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आज जिल्लाको त्रिवेणी गाउँपालिकामा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भोली देखि अनिवार्य रुपमा गठबन्धनका कार्यक्रममा सहभागि हुन निर्देशन दिनुभयो । 

‘पहिलो चुनावी सभा खोलागाउँमा कांग्रेसका नेता कार्यकर्ताको उपस्थिति कम भयो, शनिबार पेउघामा भएको गठबन्धनको चुनावी सभामा पनि कांग्रेसको उपस्थिति न्युन भयो, आजको यहाँ सिम्रुतुमा आयोजित सभामा पनि कांग्रेसको खासै उपस्थिति देखिएन, म यही सभाबाट निर्देशन गर्न चाहन्छु भोली देखि कांग्रेसका सबै नेता, कार्यकर्ताहरु गठबन्धनको संयुक्त चुनावी सभामा उपस्थित हुनुहोस् ।’

आफुले पार्टीका जिल्ला सभापति लगायतका नेताहरुलाई पनि गठबन्धनका कार्यक्रममा सहभागी हुन भनिरहेको उहाँले बताउनुभयो । ‘हिजो जिल्लामा तपाइहरुलाई कांग्रेसमा मैले नै संगठित गरेको हो, तपाइहरुले मानेपनि नमानेपनि म तपाइहरुको अभिभावक हो, उहाँले भन्नुभयो–अभिभावकको नाताले म निर्देशन गर्छु तपाइहरु सबै गठबन्धनका कार्यक्रममा सामेल हुनुहोस् ।’

हिजोको तिता मिठा कुराहरु सम्झिएर अव काम नभएको भन्दै विगतका असमझदारीलाई विर्सदै अगाडी बढ्नुपर्ने समेत उहाँको भनाई छ । आफु र जनार्दन कहिले पनि एक ठाउँमा उभिनुपर्ला भनेर आफुले कहिले पनि नसोचेको पनि उहाँले बताउनुभयो । राजनीतिकमा स्थायी शत्रु र मित्र नहुने भएकोले तल्लो स्तरका नेता कार्यकर्ताहरुले यो कुरालाई राम्ररी बुझ्न जरुरी रहेको बताउनुभएको थियो । 

उहाँले ठूलो मतान्तरले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सबैलाई आग्रह पनि गर्नुभयो । जिल्लाको समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जरुरी रहेको उहाँको भनाई थियो ।


 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update