बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिमको तेस्रो चुनावी सभा त्रिवेणी गाउँपालिकाको वडा नम्बर २ सिम्रुतुमा भएको छ । शुक्रबार चौरजहारी नगरपालिका वडा नम्बर १० को चिन्नेबगरबाट सुरु भएको गठबन्धनको चुनावी सभा आज सिम्रुतुमा भएको हो । सभामा प्रतिनिधि सभा र समानुपातिक तर्फका उम्मेदवार तथा गठबन्धन दलका नेताहरुको सहभागिता रहेको थियो ।
सभामा त्रिवेणी गाउँपालिकाका विभिन्न वडाका मतदाताहरुको सभागिता रहेको थियो । सभालाई गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्मा, गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका नेता गोपालजि जंग शाह, गठबन्धनका रुकुम पश्चिम प्रदेश सभा ख का उम्मेदवार राजकुमार शर्माले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै सभालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा, नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य देवि ओली, माओवादीका समानुपातिक प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमकुमारी सुनार, प्रदेश समानुपातिक उम्मेदवार झक्कुप्रसाद घर्ती, नेपाली कांग्रेसका कर्णाली प्रदेश सदस्य थलबहादुर खड्का, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य अमर ओलीले पनि संबोधन गर्नुभएको थियो ।
सभामा नेकपा माआवोदी केन्द्रका समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मी पुन लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । सभालाई सम्बोधन गर्ने वक्ताहरुले प्रत्यक्ष तर्फ हसियाँ हथौडा र समानुपातिक तर्फ सम्बन्धित पार्टीको चुनाव चिन्हमा मतदान गरी गठबन्धनलाई विजयी गराउन आग्रह गरेका थिए ।
सभा नेकपा माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेशबहादुर खड्काको अध्यक्षतामा भएको थियो । गठबन्धनको चौंथो चुनावी सभा भाेली सानीभेरी गाउँपालिकाको दुली छहरामा हुने गठबन्धनले जनाएको छ ।