रुकुमपूर्व प्रदेश निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर (अजयशक्ति) पक्षधरले आज (सोमबार) पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटमा भव्य चुनावी सभा कार्यक्रम गरेको छन् । घरदैलो अभियानसँगै चुनावी सभा गर्दै आएको स्वतन्त्र उम्मेदवार पुन पक्षधरले सोमबार मैकोटमा भव्य साथ चुनावी सभा कार्यक्रम गरेका हुन् ।
घरदैलो तथा चुनावी सभा कार्यक्रममा स्वतन्त्र उम्मेदवार पुन सहित उहाँका समर्थकले जनभेटघाटलाई बाक्लो गरेको पुन समर्थक मरिचमान पुन मगरले बताउनुभयो ।
राज्यको विभेदपूर्ण व्यवहारबाट विक्षिप्त भएको र पछाडि पारिएको सिङ्गो प्रदेश क्षेत्र नम्बर १ को सर्वाङ्गीण विकास, पटकपटक सुनियोजित ढंगले उत्पीडित समुदायका राजनैतिक नेतृत्वलाई अगाडि बढ्न नदिने तथा अवसर प्रदान नगर्ने प्रवृत्तिको घेराबन्दी तोडेर राजनैतिक नेतृत्वको प्रतिनिधित्व सुनिश्चि गर्न आफ्नो उम्मेदवारी रहेको पुनले बताउनुभयो । आफ्नो उम्मेदवारी सर्वाङ्गीण समृद्धिको लागि दिगो विकास, आर्थिक अवस्था सुधार, कृषि, पर्यटन, घरेलु उद्योगको विकास र पर्यावरणीय संरक्षण एवम् संवद्र्धनको लागि रहेको बताउँदै सामाजिक न्याय, महिला, दलित, श्रमिक, उत्पीडित समुदाय र नागरिक अधिकारको सम्बोधन गर्ने बताउनुभयो ।
चुनावी सभालाई जितमान पुन मगर (मार्सल), रामसुर बुढा मगर (विरता), संगम रोका मगर, कालिप्रसाद रोका मगर लगायतले सम्बोधन गर्नु भएको थियो । पछाडि परेको जन समुदायको भावना विपरित पार्टीले अरुलाई उम्मेदवारीको टिकट दिएको भन्दै नेकपा माओबादी केन्द्रबाट विद्रोह गरी पुनले स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो । स्वतन्त्र उम्मेदवार पुनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिजुलीको बल्ब चुनाव चिन्ह प्रदान गरेको छ ।