Kakhara सबैको खबर सम्पूर्ण खबर
निर्वाचनको झल्को, भूमेमा नमुना मतदान 
नमुना मतदानको केही झलकहरू । तस्बिरः कखरा । 

रुकुमपूर्व भूमे गाउँपालिकामा नमुना मतदान गरिएको छ । सोमबार गाउँपालिकाको परिसरमा जिल्ला निर्वाचन कार्यालयको आयोजनामा नमुना मतदान गरिएको हो । 

मंसिर ४ गतेका दिन हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम अन्तर्गत भूमेमा पनि नमुना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताउनुभयो । जम्मा २१ मत खसेकोमा ४ मत बदर भएको ओलीले बताउनुभयो । मत बदर हुनेमा औँला छाप लगाइएको, एक मतपत्रमा एक चिन्हमा स्वस्तिक छाप लगाउनु पर्नेमा एक भन्दा धेरै चिन्हमा छाप लगाइएको पाइएको ओलीले जानकारी दिनुभयो । 

मत बदर नगर्नका लागि सहभागी मतदातालाई निर्वाचन अधिकारी ओलीले स्पष्ट पार्नु भएको थियो । मंसिर ४ मा हुने चुनावमा प्रदेश र संघको एक/एक प्रत्येक्ष र एक/एक समानुपातिक गरी चार वटा मतपत्रमा कुनै एक चुनाव चिन्हमा स्वस्तिक छाप लगाएमा मत बदर नहुने ओली बताउनुभयो । 

नमुना मतदान कार्यक्रममा भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओली, भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक नरेन्द्र बुढा मगर, नेपाल प्रहरीका डीएसपी प्रकाश डाँगी, नेपाली सेनाका सेनानी बाबुलाल जिसी, सशस्त्र प्रहरीका डीएसपी रविन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update