भूमे गाउँपालिका लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लाको एक स्थानीय तह हो । साविकका काँक्री, मोरावाङ, काँडा, महत, चुनवाङ गाविस र रुकुमकोट गाविसका एउटा वडा मिलाएर भूमे गाउँपालिका बनाइएको छ । ९ वटा वडा रहेको यो गाउँपालिकामा पछिल्लो तीन वर्षमा के के भए ? के गर्ने प्रयास भइरहेको छ ? योजना र प्राथमिकता के के छन् ? यिनै विषयमा केन्द्रीत रहेर गाउँपालिका अध्यक्ष रामसुर बुढा मगर ‘बीरता’सँग गरिएको कुराकानीको सारसंक्षेप–सम्पादक ।
तीन वर्षको संक्षिप्त समिक्षा कसरी गर्नुहुन्छ ?
संविधान जारी भयो । देश संघीयतामा गयो । संविधान बमोजिम स्थानीय तह र सरकार बने । पहिलो पटक जनताको प्रतिनिधिको रुपमा हामी स्थानीय सरकारमा आयौं । स्थानीय तहको सरकारसित अवसर र चुनौती दुवै उत्तिकै बराबर थिए । पहिलो चोटी निर्वाचित प्रतिनिधिले संघीयता अभ्यासको जग के बसाल्ने, कसरी बसाल्ने चुनौती थिए भने पहिलो पल्ट निर्वाचित जनप्रतिनिधिको हैसियतमा जनताको सेवा गर्न पाउनु विकास निर्माणको नेतृत्व गर्न पाउनु अवसर थियो । हामीले निर्वाचनताका प्रतिबद्धता गयौं । जसबाट भौतिक संरचनाको साथै मानविय सूचकांकको पनि विकास होस् भन्ने उद्देश्य राखिएको थियो/छ । यस भूमे गाउँपालिकाको क्षेत्रको समग्र अवस्था हेर्दा विश्लेषण मुस्किल थियो । तै पनि मोटामोटी विश्लेषण गरेर योजना र प्रतबद्धता बनाइयो । तथ्य तथ्याङ्कको आधारमा योजना बनाउनुपर्ने तथा काम गर्नुपर्ने थियो तर तथ्य, तथ्याङ्कक भने थिएन । देखे, भोगेको आधारमा योजना बन्यो । अवस्था र स्थितिको विश्लेषण भयो । सोही बमोजिम भूमे गाउँपालिकाको जग बसाल्ने प्रयास थालियो ।
मानव विकास सुचकांङ्ककमा भूमे गाउँपालिका पछि थियो । भौतिक पूर्वाधारतर्फ बाटोघाटो, खानेपानी विजुली, कार्यालय भवनको अभाव थियो । गर्नुपर्ने धेरै थियो सुरुवात नगरी भएन । गाउँपालिकाको स्थिति अवस्था विश्लेषण अनुसार भौतिक पूर्वाधार निर्माणको साथसाथै मानव विकासलाई पनि सँगसँगै अघि बढाउनुपर्छ भनेर काम थालियो । भौतिक र मानव विकास सँगसँगै अघि लैजानुपर्छ र समाजको समृद्धि हुन्छ भन्ने मान्यता अनुसार मावन विकासमा शिक्षा, स्वास्थ्य, आर्थिक समृद्धि आधारभुत काम पनि भौतिक पूर्वाधारको काम सँगसँगै गरियो । यसै अनुसार योजना बन्यो, प्राथमिकता निर्धारण गरियो र काम अघि बढाइयो ।
भौतिक पूर्वाधारतर्फ गाउँपालिकामा राष्ट्रिय पुष्पलाल मध्यपहाडी लोकमार्ग छ । यस मार्गले गाउँपालिकाको पूर्व पश्चिम छिचोलेको छ । अर्को पनि मुख्य मार्ग हाम्रो गाउँपालिकामा पर्छ । गाउँपालिकाको उत्तर दक्षिण सहिद मार्गले छिचोलेको छ । यस कारणले गर्दाखेरी अरु विकासको ढोका खोल्न सजिलो भयो । यी दुई मुख्य सडक भएपनि अरु सहायक सडक बनाउनुपर्ने भयो । त्यसमा यी दुवै मेन रोडमा अरु रोड लिंक गर्ने योजना बन्यो । गाउँपालिकाको भू बनोट र वस्तिका हिसाबले दुवै सडकका दायाबाया र डाँडाकाँडामा वस्ति छन् । यी दुवै मुख्य सडकमा दायाबाया रहेका र डाँडाकाँडा रहेको वस्ति जोड्न रिङ रोड र लिंक रोडको अवधारणा बन्यो त्यसै अनुसार सबै वस्तिमा सडक पुगेको छ । स्थानीय तहमा निर्वाचित भएको तीन वर्षमा रिंग र लिंक रोड मार्फत गाउँपालिकाका सबै मुख्य टोल जोडिएका छन् । निश्चित पुग्नुपर्ने डाउँमा सडक पुगेको छ । अब सडक ट्रयाक ओपनको काम सकियो । सबै सडकलाई स्तरोन्नती गर्ने योजना छ । गाउँपालिकाका कुनै पनि टोल सडकको पहुँच भन्दा टाढा छैनन् । राष्ट्रिय राजमार्गहरु संघीय सरकारको जिम्मेवारीमा पर्छन् । यसो भनेर स्थानीय तह पञ्छिने कुरा भएन । सडक निर्माण र कालोपत्रेमा ताकेता गरियो । यसैकारण धौलापहिरामा पुल बन्यो यसले माथिल्लो वस्तिलाई सजिलै जोडेको छ । कालो पत्रेको काम धमाधम अघि बढेको छ ।
स्थानीय तहको समग्र विकासको लागि स्थानीय तह आफैले त्यसको स्पस्ट रोडम्याप तय गर्नुपर्छ । यसो गरेपछि मात्रै स्थानीय तहले एउटा दिशा पकड्छ र अघि बढ्छ । स्थानीय तहकै रोडम्याप अनुसार संघ र प्रदेशले पनि बजेट हाल्ने, नीति निर्माणमा सघाउने हुनुपर्छ । स्थानीय तहकै रोडम्याप अनुसार अघि बढेपछि संघ र प्रदेशका योजना कार्यान्वयन प्रभावकारी हुन्छ । भनेको र सोचेजस्तै गरी विकास अघि बढ्छ । भूमे गाउँपालिकामा पनि यस्तै भएको छ । समग्र र पार्ट पार्ट विकासको योजना, मार्गचित्र स्थानीय तहले बनाएको छ । यसमा संघ र प्रदेश सरकारको बजेट पनि परेको छ । संघ र प्रदेशले लगानी गरेका छन् । सडक निर्माणदेखि अरु सबैमा अन्य दुई सरकारको बजेट छ ।
स्थानीय तहको निर्वाचन भएको यस तीन वर्षको अवधिमा स्वास्थ्यमा पनि सुधारको सुरुवात भएको छ । जनताले आधारभुत स्वास्थ्य सेवा घर नजिकबाट पाउन थालेका छन् । भूमे गाउँपालिकामा ५ वटा स्वास्थ्यचौकी र एउटा सामुदायिक स्वास्थ्य इकाई गरी ६ स्वास्थ्य संस्था थिए । यसबीचमा अब भने गाउँपालिकाका ९ वडामा ११ सामुदायिक स्वास्थ्य इकाई बनेका छन् । नागरिकले सहजै आधारभुतस्वास्थ्य सेवा पाइरहेका छन् । नागरिकको स्वास्थ्यमा सहज पहुँच बढ्दै गएको छ । स्वास्थ्य चौकीहरुमा मापदण्ड अनुसार नै भवन बनेका छन् । ३ सामुदायिक स्वास्थ्य इकाईका भवन बनेका छन् । यस अघि ५ स्वास्थ्य संस्थाबाट मात्रै प्रसुती सेवा प्रवाह भइरहेकामा अब भने ११ वटै स्वास्थ्य संस्थाबाट यो सेवा प्रवाह भइरहेको छ । सबै प्रसुती गृहमा भान्सा घर बनाइएको छ । यसले सजिलो भएको छ । गाउँपालिकाले सहज सेवा प्रदान गर्न एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ । स्वास्थ्य चौकी चुनवाङ र काँक्रीमा प्रयोगशाला सेवा सञ्चालन गरिरहेको छ ।
समग्र विकासको अर्को मेरुदण्ड शिक्षा हो । गाउँपालिकाले शिक्षामा प्राथमिकिरण गरेर लगानी र व्यवस्थापनको काम गरिरहेको छ । यो बेलासम्म बालमैत्री शिक्षा, सूचना प्रविधि मैत्री शिक्षामा गाउँपाकिाले ध्यान केन्द्रीत गरेको छ । १ देखि ८, १ देखि १० र १ देखि १२ सम्मका विद्यालयमा कम्प्युटर जडान नगरिएको छ । १५ विद्यालयमा बालमैत्री कक्षा सञ्चालन भइरहेको छ । अरु विद्यालय पनि हुने क्रममा छन् । ४६ जना स्वयसेवक शिक्षक छन् । भोल्युन्टर ऐन अनुसार नै यि शिक्षकलाई परिचालन गरिएको छ । वडा कार्यालयमा शिक्षा, स्वास्थ्य, कृषि, पशु कार्यालयमा यही भोल्युन्टर ऐन अनुसार नै जनशक्ति खटाइएको छ । स्वीकृत दरबन्दी अनुसार कर्मचारी नभएपछि गाउँको विकासमा योगदान पनि हुने भएर गाउँपालिकाले यो ऐन बनाएर लागु गरेको हो ।
भूमे गाउँपालिका, संघ र प्रदेश सरकार तथा विभिन्न दातृ निकायको सहयोगमा गाउँपालिकाका विभिन्न ठाउँमा एक घर, एक धाराको काम धमाधम भइरहेको छ । लुकुम, काँक्र, कुचिवांग, चुनवांगमा एक घर एक धाराको काम भइरहेको छ । सबैको पहुँचमा स्वच्छ खानेपानी पुगोस् भनेर काम भइरहेको छ । यसका साथमा हरेक वर्ष गाउँपालिकाले पनि स–साना मुहान संरक्षण, खानेपानी मर्मत तथा खानेपानीका योजना बनाइरहेकै छ । सकेसम्म सबैको घरमा स्वच्छ खानेपानी पुर्याउने गरी काम भइरहेको हो ।
स्थानीय सरकार संघ, प्रदेश तथा अरु दातृ निकायमा मात्रै भर पर्नुुहुन्न । आफै पनि केही गर्ने र नागरिकलाई पनि केही गर्नका लागि सहयोग, प्रेरणा दिनुपर्छ । यसमा नागरिकलाई आर्थिक उपार्जनमा लाभ दिनुपर्छ । स्थानीय सरकारले पनि स्रोत जुटाउनुपर्छ । यसका लागि गाउँपालिकाले सरकार र आर्थिक बृद्धिका निम्ती क्षेत्र पहिचान गरिएको छ । गाउँपालिका र नागरिकको आम्दानीका लागि ४ क्षेत्र पहिचान गरिएको छ । कृषि र वन, पर्यटन, जलस्रोत र कृषि वनमा आधारीत लघु उद्यमको विकास पहिचान गरिएका क्षेत्र हुन् ।
प्राङगारीक उत्पादन प्राथमिकतामा कृषि परेको छ । यसमा गाउँपालिका र सबै नागरिकलाई जोड्ने प्रयास भइरहेको छ । यसका लागि ‘अर्गानिक उत्पादन भूमेको पहिचान’ भन्ने नारा नै तय गरिएको छ । माटो सुहाउँदो, हावापानी सुहाउँदो उत्पादन गर्ने गतिविधि प्राथमिकतामा छन् । २६ सय मिटरको उचाइमा रहेको मारिङमा कृषि तथा वनको अनुसन्धान केन्द्र बनाइएको छ । यसलाई कृषि तथा पर्यटनका दृष्टिकोणबाट काम लगाइएको छ । गाउँपालिकामा उत्पादित अर्गानिक वस्तुको संकलन तथा बजारीकरणको सुरुवात भएको छ । व्यवस्था परिवर्तणका लागि बलिदान गरेका सहिद, घाइतेको योगदान कम छैन । सहिद र घाइतेको सम्मानका लागि गाउँपालिकाले नै सहकारीमा शेयर खरिद गरिदिएको छ । व्यक्तिगत रुपमा नगद दिनु भन्दा सहकारीबाट गाउँपालिकाले ३० लाखको शेयर खरिद गरिदिएको छ । यही सहकारीले उत्पादित वस्तुको संकलन र बजारीकरणको काम गरिरहेको छ । यो उत्साहजनक तवरबाट अघि बढेको छ । यसबाट गाउँपालिका, सहकारी तथा किसान उत्साहित बनेका छौं ।
पर्यटनमा प्रकृति, संस्कृति र इतिहाँस महत्वपूर्ण हुन्छ । यसैले भूमे गाउँपालिका पनि यसमा कम छैन । प्रकृतिमा सुन्दर ठाउँ छन् । हिमाल छन् । झरना, छाँगा छहरा, पहरा, फूल छन् । पर्यावरणिय क्षेत्र छन् । भ्यु टावर जस्तै ठाउँ छन् । वनजंगल, वन्यजन्तु पनि छन् । सिमा क्षेत्र जोडिएको ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय तहको साझा योजना, साझा बजेट, त्यसबाट प्राप्त लाभको बाँडफाँडको योजना पनि छ । संस्कृति सन्दर्भमा मगरको जीवन शैली, आफ्नै मौलिक कलाभाषा छन् । मौलिक संस्कृतिलाई संरक्षणका लागि सांस्कृतिक कार्यक्रम गर्दै आएका छौं । जनसत्ताले गरेका काम, जनयुद्धका संरचनाको संरक्षण तथा पछिका पुस्ताका लागि इतिहास छ । गणतन्त्र आउनुका आधार चुनवांङमा जनयुद्ध संग्राहलय छ । महतमा युद्ध फिचर छ । यसलाई थप व्यवस्थित बनाउने योजना पनि छ । यसमा संघ, प्रदेशको पनि लगानी छ । जनवादी विद्यालयलाई संग्राहलय बनाइने छ । यो १८ मगरातको थातथलो हो । यहाँबाट नै देशैभर मगरहरु गएका हुन् । मगरबाहुल्य क्षेत्र हो । यसले काँक्रीलाई आदीबासी जनजाती संग्राहलयको रुपमा विकास गर्ने योजना छ । यसको डिपिआर हुन्छ । नयाँ संरचना बन्छन् । यसबाट पनि इतिहास मार्फत पर्यटन प्रबद्र्धनको योजना छ ।
जलस्रोत सरकार र नागरिकको आम्दानी होस् भनेर थवांङखोला विद्युत आयोजनाको पूर्व सम्भाव्यता भइसकेको छ । डिपिआरको काम पनि अन्तिम चरणमा छ । निर्माणको फेज यसै आर्थिक वर्षमा सुरु हुन्छ । यसमा सरकार, व्यक्तिको साझेदारीमा शेयर हुन्छ । यसबाट सरकार र नागरिकको आम्दानीको स्रोत बनाउने भनेर उपयोग गर्ने योजना छ । यस्तै अरु योजना र निर्माणका लागि पहिचानको काम पनि भइरहेको छ । कृषिलाई लाभ हुने किसिमले सिचाई बनाउने र उपयोग गर्ने योजना बनेका छन् । डाँडाकाँडामा लिफ्ट सिचाई मार्फत सबै जमिनमा सिंचाई गरेर उत्पादन वृद्धि गर्ने योजना छ । लघु उद्यम विकासतर्फ पनि ध्यान गएको छ । बाहिरबाट ल्याउने भन्दा पनि स्थानीय वनजंगलमा रहेको वडीबुटीको प्रयोग र उपयोगका लागि उद्योग स्थापना गर्ने नीति बनाइएको छ । उद्योग स्थापनामा ढिलाइ भएको छ । नीति बनिसकेका कारण यसको कार्यान्वयनमा पनि चाँडै गइने छ ।
यस अवधिसम्म गरिएको कामकाजबाट कति प्रतिशत सन्तुष्ट हुनुहन्छ ?
निर्वाचित भएदेखि हालसम्म धेरै गरिएको भनेर उत्साहित पनि छैन । र केही भएन भनेर निरुत्साहित हुने ठाउँ पनि म देख्दिन । धेरै गर्नुपर्ने छ । जे गरिएको छ यसले असन्तुष्ट हुने ठाउँ छैन । सुरुवात गरिएका धेरै काम पूरा भएका छन् । अधुरा काम पनि निर्माणकै चरणमा रहेकाले नागरिक पनि असन्तुष्ट हुनुहुन्छ जस्तो लाग्दैन । तर हुनुपर्ने जति त भएको छैन । स्रोत, साधन, जनशक्ति सबैले साथ नदिँदा समस्या भइरहेको छ ।
मुख्य प्राथमिकता के छन् ?
समय र परिस्थिति अनुसार पनि प्राथमिकता तय हुन्छन् । कोभिडका कारण स्वास्थ्यमा प्राथकिता दिइयो । दीर्घकालिन हिसावले मानविय, आर्थिक, पूर्वाधारमा पछि परेको छ । पूर्वाधारको साथसाथै मानव विकासनैै प्राथमिकतामा छ । शिक्षा, स्वास्थ्य र आर्थिक समृद्धिनै हो । बाटो, भवन मात्रै बनाएर हुन्न ।
के के समस्या समाधान भए ?
समस्या पूरै समाधान हुने विषय त सीमित मात्रै छन् । यो समय अनुसार चल्नुपर्ला । केही भवनहरु बनेका छन् । यसमा थप लगानी र समय खर्च गर्नु नपर्ला भन्ने लागेको छ । यसमा ध्यान नदिएपनि हुनुपर्ने जस्तो छ । फेरि विकास आवश्यक्ता पनि हो । यसैले थप माग नहुने र गर्नु नपर्ने भन्ने भएन । आवश्यक्ताका आधारमा पनि काम गरिएको छ, र गरिन्छ पनि ।
केके समस्या अँझै छन् ?
सरकारको योजनालाई कार्यान्वयका लागि नागरिकको जागरुकता, सचेतना पुगेको छैन । बेरोजगारीको कारण धेरै जनशक्ति बाहिरै छ । सबैतिर योजना बुझाउन गाह्रो छ । बुझेपछि पनि कार्यान्वनमा समस्या आइहाल्छ । सकेसम्म सजिलो बनाएर, सहजिकरण गरेर काम भइरहेका छन् ।
चाहेर पनि गर्न नसकिएको काम के हो ?
कतिपय कुरामा प्रक्रियाका कारण केही काम बाँकी रहन्छन् । गर्न खोज्दा पनि विविध कारणले पुग्दैन । गर्न खोज्दा खोज्दा पनि समस्या हुने रैछन । काम गर्दै जाँदा त्यो महशुस भयो । यसको सहजिकरणका लागि के आवश्यक पर्छ त्यसमा ध्यान दिने र मिलेसम्म नीति, विधि र कार्यविधिलाई सजिलो बनाउने पहल भइरहन्छ ।
अबको बाँकी कार्यकालमा के गर्नुहुन्छ ?
समय पुग नपुग २ वर्ष छ । पूरा गर्नुपर्ने कुरा पूरा गरिन्छ । यसका लागि बजेट जुटाउने र कार्यान्वयनमा ध्यान दिइन्छ । नयाँ योजना भन्दा पनि पूरानैलाई पूरा गर्ने हो । पूराना नसकेर नयाँ बनाउने योजना छैन । आधारभुत रुपमा योजना बनाइ सकिएको छ । यसलाई पूरा गर्नका लागि लागि पर्ने हो । सुरुवात गरिसकेका योजना अधुरै छाडेर थप योजना बनाउने योजनामा गाउँपालिका छैन ।