रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेलाको प्रमुख दिन आज मुसिकोट ५ मा अवस्थित डिग्रे शाइकुमारी मन्दिर परिषरमा ‘भव्य’ मेला लाग्दै छ । हरेक वर्षको हरिवोधनी एकादशी देखि कार्तिक पूर्णिमासम्म लाग्ने मेलाको मुख्य दिन आज ‘भव्य’ मेला लाग्दै छ । यो वर्ष कार्तिक १८ गतेदेखि मेला सुरु भएको थियो ।
आज मेलाको अन्तिम दिन हो । एकादशिदेखि औपचारिक रुपमा मेला सुरु हुने भएपनि पूर्णिमा दिन विशेष मेला लाग्छ । ५ दिनसम्म लाग्ने मेला आज ‘भव्य’ मेलासंगै सम्पन्न हुन्छ । मेला भर्नका लागि रुकुम पश्चिम सहित छिमेकी जिल्लाहरुबाट समेत मान्छेहरु आउने गरेका छन् ।
मेलाको अन्तिम दिन आज मेलामा विभिन्न स्थानीय नाचहरु सहित परम्परागत सगाल नाच पनि प्रस्तुत हुन्छ । सगाल नाच पछि मेला समापन भएको मानिन्छ । मेलाको अवसरमा एकादशी देखि पूर्णिमासम्म डिग्रे मन्दिरमा विशेष पुजाआजा तथा बलि चढाइन्छ । एकादशी र पूर्णिमा दिनमा भने बलि बाहेक पुजाआजा मात्र हुन्छ ।
वर्षैभरी यो मन्दिरमा पुजाआजा र बोका बलि चढाउने गरेपनि हरिबोधनी एकादशी देखि पूर्णिमासम्मको पुजाआजा, दर्शन र बलिलाई विशेष रुपमा लिइन्छ । यो मन्दिरमा पुजाआजा, दर्शन र बलि दिनाले मनोकांक्षा पुरा हुने जनविश्वास छ । यही विश्वासका कारण मन्दिरमा वर्षेनी लाखौं दर्शनार्थी पुग्ने गरेका छन् ।