प्रसिद्ध धार्मीक स्थल रुकुम पश्चिमको डिग्रे शाइकुमारी मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशी देखि कार्तिक शुक्ल पूर्णिमासम्म परम्परागत प्रसिद्ध डिग्रे मेला लाग्ने गर्दछ । मेला यो वर्षपनि कार्तिक १८ गते हरिबोधनी एकादशी देखि सुरु भई मंगलबार (आज)सम्म लागेको छ । द्धापर युगको अन्त्य तिरबाट सुरु भएको मानिने यो मेलालाई दैवी शक्तिसंग जोडेर हेर्ने गरिन्छ । यस मन्दिरमा पुजापाठ, दर्शन तथा बोका बलि दिएमा मनले चिताएको पुग्ने धार्मिक जनविश्वास छ । सोही विश्वासका कारण यो मेलालाई यस क्षेत्रकै प्रसिद्ध मेलाका रुपमा लिइन्छ ।
यो मेला चर्चित हुनुको अर्को कारण छ लट्ठी अर्थात सगाल नाच । मन्दिरको पूर्वतिर पर्ने साँख गाउँका मानिसहरु मेलाको अन्तिम दिन हातमा लट्ठी लिएर मन्दिर परिसरमा लाग्ने भव्य मेलामा नाच्ने गर्दछन् । उनिहरु साँख गाउँबाटै बाजागाजा सहित हातमा लट्ठी बोकेर नाच्दै डिग्रे मेला स्थल मुसिकोट ५ थर्पूसम्म पुग्ने गर्दछन् । मन्दिरमा पुगिसकेपछि डिग्रे शाइकुमारी भगवतीको दर्शन गर्दै उनिहरु मन्दिर भन्दा मुनिरहेको मन्दिर परिसरमा गएर नाच्ने गर्दछन् ।
मन्दिर प्रांगनबाट उनिहरु पुनः मन्दिरमा पुगि दर्शन गर्दै चाच्ने गर्दछन् । ३, ४ पटक तलमाथि गर्दै नाचेपछि यो नाच समापन गर्ने गरिन्छ । यो नाच संगै मेला समापन भएको मानिन्छ । लट्ठी समाएर एक अर्कामा लट्ठी हानाहान गरेर नाच्ने गरेपनि कसैलाई चोटपटक भने लाग्दैन् । यो नाच मेला सुरु भएदेखि नै नाच्ने गरिएको डिग्रे मेला व्यवस्थापन समितिको भनाई छ ।
द्धापर युगको अन्त्य तिर उक्त ठाउँमा शाइकुमारी भगवती प्रकट भएर यस ठाउँलाई धार्मिक तथा शक्ति पिँठका रुपमा स्थापित गर्न लगाएपछि त्यस ठाउँका ब्राहमणहरुले शाइकुमारी भगवतीको मन्दिर स्थापना गरी पुजापाठ र मेलाको सुरुवात गरेको इतिहास रहेको मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष लालवहादुर केसीले बताउनुभयो । प्राचिनकालमा दैवी शक्तिलाई भुत प्रेतबाट डर भएकाले मन्दिरको शक्तिलाई बचाउन लट्ठी नाचको सुरुवात भएको पाइएको केसीको भनाई ।
लट्ठी लिएर नाच्दा भुतप्रेत मन्दिरमा प्रवेश गर्न नपाउने विश्वास छ । साँख गाउँका मान्छेहरुले यो नाच नाच्ने भएकाले यस नाचलाई सगाल नाच भनिन्छ ।