रुकुमका लागि जनार्दन शर्मा ‘प्रभाकर’ र गोपालजी जंग शाह नौला प्रतिस्पर्धी होइनन् । २०४८ साल देखि नै रुकुमेली मतदाताहरुले उनिहरुको प्रतिस्पर्धा हेरे र मत दिए पनि । पहिलो भेटमा तत्कालिन जनमोर्चाबाट चुनाव लडेका जनार्दन गोपालजीसंग पराजित हुनुभएको थियो । त्यसपछि २०५२ देखि माओवादीले जनयुद्ध सुरु गर्यो । जनार्दन माओवादी युद्धमा होमिनुभयो । गोपालजी भने चुनावी प्रतिस्पर्धामै रहि रहनुभयो । समयले कोल्टे फेर्यो । माओवादी शान्ति प्रक्रियामा सामेल भयो । २०६४ सालमा पहिलो संविधान सभाको निर्वाचन भयो । पहिलो निर्वाचन लडेको १६ वर्षपछि जनार्दन चुनावी मैदानमा प्रवेश गर्नुभयो भने गोपालजी चुनावी प्रतिस्पर्धा भन्दा बाहिर । उक्त निर्वाचनमा कांग्रेसले जनार्दन विरुद्ध सहिद पूत्र प्रेमप्रकाश ओलीलाई टिकेट दियो । जनार्दनले पहिलो पटक सानदार जित हाँसिल गर्नुभयो । २०७० सालमा जनार्दन र गोपालजी दोस्रो पटक आमने सामने हुने अवसर जुर्यो । पहिलो पटक चुनाव लडेको २० वर्षपछि दुई नेता आमनेसामने भए । जनार्दनले २०४८ सालमा व्यहोरेको हारको बदला २० वर्षपछि लिनुभयो । त्यसपछि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि कांग्रेसले गोपालजीलाई टिकट दियो । माओवादीले जनार्दनलाई । यि दुई नेता विच तेस्रो प्रतिस्पर्धा भयो । यसमा पनि बाजी जनार्दन शर्माले नै मार्नुभयो । एमालेको सहयोगमा १८ हजार बढीको मतान्तरले जनार्दनले गोपालजीलाई पराजित गर्नुभयो ।
जनार्दन जिताउन कमाण्डर गोपालजी
२०४८ साल देखि प्रतिस्पर्धा गर्दै आएका गोपालजी र जनार्दनको सम्बन्ध निर्वाचनमा मात्र होइन अन्य समयमा पनि खास राम्रो हुन सकेन् । सार्वजनिक कार्यक्रममा उनिहरु एक अर्काप्रति खरो प्रतिवाद गर्थे । तर अहिले भने अवस्था बदलिएको छ । दुई राजनीतिक विचारका दुई किनार अहिले एक भएका छन् । उनै गोपालजी जो जनार्दनका सधैका प्रतिस्पर्धी हुनुहुन्थ्यो अहिले भने मित्र बन्नुभएको छ । एक अर्का विरुद्ध आलोचना तथा गाली गरेर नथाक्ने दुई नेताहरु अहिले एक अर्काको सारथि बनेका छन् । एक अर्काको प्रशंसा गरि थाक्दैनन् । गोपालजी मंसिर ४ को निर्वाचनमा आफ्ना सधैका प्रतिस्पर्धी जनार्दन शर्मालाई जिताउन लागि पर्नुभएको छ । उहाँ जनार्दनलाई जिताउन गठन भएको निर्वाचन परिचालन समितिको संयोजक बन्नुभएको छ । सार्वजनिक कार्यक्रममा जनार्दनको मुक्तकण्ठले प्रशंसा गरिरहनुभएको छ । खुलेर हसियाँ हथौडामा भोट मागिरहनुभएको छ । गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्दै शाहले हसियाँ हथौडालाई भोट दिनुहोस रुकुम पश्चिमले मात्र होइन देशले सुख पाउँछ भनिरहनुभएको छ । जनार्दन पनि गोपालजीलाई जिल्लाको अभिभावक भनेर फुर्काइरहनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धन अनुसार रुकुम पश्चिममा कांग्रेस लगायतका अन्य दलले माओवादीलाई सघाइरहेका छन् ।
राजनीतिमा स्थायी मित्र र शत्रु कोही हुँदैनः शाह
सधै जनार्दनलाई हराउन कम्मर कस्ने गोपालजी अहिले भने जिताउन बलबुताले भ्याएसम्म कसरत गरिरहनुभएको छ । राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र नहुने उहाँ बताइरहनुभएको छ । ‘शाह भन्नुहुन्छ, राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र नहुने रहेछ, हिजो हामी एक अर्कालाई हराउन लाग्यौं, आज म उहाँलाई जिताउन लागिपरेको छु ।’ सयमको माग र राष्ट्रको आवश्यकताले आफुहरुलाई एक ठाउँमा ल्याएको उहाँले बताउनुभयो । आफुहरु एक ठाउँमा उभिदा अति नै खुशि लागेको उहाँको भनाई छ । जिल्लाको आवश्यकता पुरा गर्न अव सबै एक जुट भएर अगाडी बढ्नुको विकल्प नभएको उहाँ बताउनुहुन्छ । यतिमात्र होइन गोपालजीले जनार्दनलाई देशभरिमै ठूलो मतान्तरले जनार्दनलाई विजयी गराउने आश्वासन दिइरहनुभएको छ ।
जनार्दन भन्छन गोपालजीको अभिभावकत्वमा रुकुमले नयाँ यात्रा थाल्यो
गोपालजीलाई हौस्याउने अर्को तत्व हो जनार्दनको फुर्काइ । जनार्दनले गोपालजीलाई फुर्काउन कुनै कसर बाँकी राख्नुभएको छैन् । गत बिहिबार गठबन्धनको पहिलो बैठकका निर्णय सार्वजनिक गर्न मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा जनार्दनले गोपालजीलाई आदरणिय दाइ भनेर सम्बोधन गर्नुभएको थियो । यतिमा मात्र उहाँ रोकिनुभएन् अव रुकुममा गोपालजीको अभिभावकत्वमा विकासको नयाँ यात्रा सुरु भयो सम्म भन्नुभयो । अहिलेपनि जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने चुनावी सभामा जनार्दनले यसैगरी गोपालजीको प्रशंसा गरिरहनुभएको छ ।
जिल्लामा पहिलो पटक कांग्रेस, माओवादी संगै
रुकुम पश्चिममा पहिलो पटक नेपाली कांग्रेस उम्मेदवार विहीन भएको छ । गठबन्धन अनुसार एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमका सबै क्षेत्र माओवादीलाई भाग परेका छन् । कांग्रेस भित्रको व्यापक असन्तुष्टिका विच अन्तत् जिल्लामा कांग्रेस र माओवादी एउटै मञ्चमा अटाएका छन् । यसलाई धेरैले अविश्वसनिय भनिरहेका छन् । जिल्लामा कांग्रेस र माओवादीका विचमा ठूलो तिक्तता छ । माओवादी जनयुद्ध देखि नै माओवादी र कांग्रेस एक अर्काप्रति जाइलाग्दै आएका छन् । त्यो अहिलेसम्म पनि कुनै न कुनै रुपमा बाँकी नै छ । अहिलेको गठबन्धनलाई धेरैले कांग्रेस र माओवादी विचको तिक्तता कम गर्ने अवसरका रुपमा पनि हेरिरहेका छन् । गठबन्धन दलहरुले संयुक्त चुनावी सभा सुरु गरेपछि जिल्लामा कांग्रेस र माओवादी पहिलो पटक एकै ठाउँमा उभिएका हुन् ।